माओवादी भारतको ट्रोजन हर्स् नै हो : रोहित 

94

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायण मान विजूक्छें(रोहित)ले माओवादी भारतको ट्रोजन हर्स् नै भएको बताउनुभएको छ ।

वाल विकास सेकेण्डरी स्कुलको ३६ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले माओवादी भारतको ट्रोजन हर्स् नै भएको बताउनुभएको हो ।

माओवादी कम्युनिस्ट हैन ट्रोजन हर्स् मात्र हो भनेर नेमकिपाले पहिलो देखि नै भन्दै आएको बताउँदै आएको थियो जुन अहिले प्रमाणित भएको समेत उहाँले बताउनुभयो । उहाँले माओवादीलाई ट्रोजन युद्धको घोडा मात्र हो भनेर अहिले भारतका अशोक मेहताले पनि विभिन्न पुस्तक र लेखहरूमा भनेबाट यो झन् पुष्टि भएको उहाँले बताउनुभयो । यस्तै अहिले देशको सबै भन्दा ठुलो दल नेपाली काँग्रेस निरीह तथा चेसको प्यादा जस्तो मात्र भएको पनि भारतका लेखक तथा शासकले भन्दा हाम्रो देश कतातिर गई रहेको छ र कसले चलाएको छ प्रमाणित भएको उहाँले बताउनुभयो ।

माओवादीलाई तालिम गराउनेले नै भारतको ट्रोजन हर्स् अर्थात् छलको घोडा हो भन्दा पनि नेपाली जनता उनीहरूको नै पछि लाग्नु मूर्खता पूर्ण भएको उहाँको भनाई थियो ।

अध्यक्ष विजूक्छेंले कुनै पनि देशको अस्तित्व मेटाउन उसको भूगोलमा मात्र नभएर उसको संस्कृति कलामा पनि आक्रमण हुने बताउँदै हामीले विद्यालयमा अध्ययन गरेर गएका विद्यार्थीको विषयमा अध्ययन गरी हाम्रो कला र संस्कृति एक पुस्तामा कता गयो भन्ने विषयमा जानकारी राख्नु पर्ने र नयाँ पुस्तालाई हाम्रो कला संस्कृतिको ज्ञान दिनु पर्ने बताउनुभएको थियो ।

कला र संस्कृतिको जानकारी दिन भूगोल र इतिहासको पढाइ गराउनु पर्ने बताउँदै उहाँले हाम्रो देशमा अहिले कला र संस्कृतिको अध्ययन गर्ने भन्दा अरूमा ध्यान ज्यादा जाँदा नेपाली जनता अरूको नोकर हुन पुगेको समेत बताउनुभएको थियो ।

कार्यक्रममा विभिन्न विद्याका प्राध्यापक शिक्षक डक्टरहरूले आफ्नो राय राख्नु भएको थियो ।