भक्तपुर । भक्तपुरको हनुमन्ते खोलामा एक युवा मृत फेला परेका छन् । घटनास्थलमा स्कुटर समेत फेला परेको छ । प्रहरी परिसर भक्तपुरका अनुसार, सोमबार बिहान सवा ६ बजे मध्यपुरठिमी नगरपालिका वडा नम्बर ९ राधेराधेस्थित हनुमन्ते खोलामा ती युवा मृत फेला परेका हुन ।
डिएसपी बसन्त पाठकका अनुसार, मृतक इलाम नगरपालिका–३ घर भई काठमाडौंको तिनकुने बस्ने २६ वर्षीय छत्र थापा रहेका छन्। उनको शव खोलाको बीचमा उत्तानो परेको अवस्थामा भेटिएको बताइएको छ ।
उनको बा ८६ प.९७३० नम्बरको स्कुटर पनि सोहि खोलामा फेला परेको छ। शव पोष्टमर्टमको लागि केएमसी अस्पताल दुवाकोट लगिएको छ। डिएसपी पाठकका अनुसार दुर्घटना भएको हो वा होइन भन्नेबारे पनि अनुसन्धान भइरहेको छ।
त्यस ठाउँ आसपासका सिसिटिभी फुटेज पनि हेर्ने काम भइरहेको उनले बताए। घटनास्थलमा हेल्मेट भेटिएको छैन। प्रहरी वृत्त ठिमीबाट अनुसन्धान अधिकृत सहितको टोलीले थप अनुसन्धान अघि बढाएको छ।