एक सय वर्षीय हरिलाल पञ्च सम्मानित 

24

भक्तपुर । भक्तपुरका एक सय वर्षीय हरिलाल पञ्च सम्मानित भएका छन् । नपली नेपा: पुचःले टोलको सबैभन्दा ज्येष्ठ एक सय वर्ष भएकोमा सम्मान स्वरूप अभिनन्दन गरेको हो । पुचःका अध्यक्ष इन्द्रमान श्रेष्ठले दोसल्ला ओढाई, सम्मान पत्र प्रदान गरी सम्मान गरेका हुन् ।

सम्मानित हरिलाल पंचको जन्म १९८१ मङ्सिर १९ गते भएको थियो । उनले गएको मङ्सिर १९ गते ९९ वर्ष पूरा गरी एक सय वर्ष प्रवेशको अवसरमा जन्मदिन मनाएको थियो । उनकी धर्मपत्नी केशरी पंच पनि सम्मान कार्यक्रममा मञ्चमा थिइन् । उनको जन्म भने १९८५ मङ्सिर २३ गते भएको थियो । उनी पनि एक सय वर्ष प्रवेशको क्रममा छन् ।

उनीहरूको पुख्यौली घर भक्तपुर नगरपालिका वडा नं १ (साबिक वडा नं १७) इटाछेंमा थियो । तर हाल उनीहरू जिल्लाकै सूर्यविनायक नगरपालिका वडा नं ६ पाण्डु बजार भक्तपुरमा कान्छो छोरा लक्ष्मीप्रसादसँग बस्छन् । उनीहरूका माइलो र साइँलो छोरा भक्तपुर नगरपालिका वडा नं १ नपलीमा बसोबास गर्छन् । यही हिसाबले उनलाई नपली टोलले सम्मान गरेको हो ।

कार्यक्रममा हरिलालले आफूलाई सम्मान गरेको संस्थाका लागि पाँच हजार नगद सहयोग प्रदान गर्नुभयो । संस्थाले टोलमा वनाउँंदै गरेको घाट (श्राद्ध गर्ने ठाउँ) बनाउन रकम अभाव भएकोले बुबा हरिलालको नाममा आफूले रकम सहयोग गरेको कान्छो छोरा लक्ष्मीप्रसादले बताए ।

हरिलाल र केशरीका चार छोरा र तीन छोरीहरू थिए । तीन छोरीहरू भने बितिसकेका छन् । उनका चार छोरा र चार बुहारीहरूसहित नातिनातिना, पनातिपनातिना, खनातिखनातिनाहरुसमेत भइसकेका छन् ।