बागमती प्रदेशमा एमाले नेता थपलियाले लिए मन्त्रीको सपथ

30

मकवानपुर । बागमती सरकारमा नेकपा (एमाले) सहभागी भएको छ ।

एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रीको शपथ लिएका छन्  । शनिबार साँझ उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

केन्द्र सत्ता समीकरणअनुसार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले एमालेका थपलियालाई मन्त्री नियुक्त गरिएको हो ।

मन्त्री थपलियाको परिचय

विद्यार्थी जिवनदेखि नै राजनीतिमा होमिएका जगन्नाथ थपलिया गत मंसिर ४ मा भएको निर्वाचनमा चितवन क्षेत्र नम्बर १ (१)बाट निर्वाचित हुनुभएको हो । चितवनका पुराना  कम्युनिस्ट नेता स्व. जागृत प्रसाद भेटवाल ( जेपी) को झल्को मेटाउने थपलिया ‘जेएन’ उपनामले पनि परिचित हुन्हुन्छ ।
२०१३ साल साउन २० गते जन्मनुभएका थपलियाका  बुवा धर्मानन्द थपलिया र आमा प्रममाया थपलिया हुनुहुन्छ । उहाँ २०२८ सालमा दोलखाको खिमावती माविको स्ववियु सचिव बनेर विद्यार्थी राजनीतिमा उदाउनुभएको हो । थपलिया २०३१/२०३२ सालसम्म आइपुग्दा तत्कालीन कम्युनिस्ट पार्टी कोअर्डीनेसन केन्द्रमा आवद्ध हुनुभएको थियो।
उहाँको सक्रियतासँगै २०३६ सालमा मिनभवन क्याम्पसको स्ववियु सभापति हुनुभयो । २०३९ सालमा पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको केन्द्रीय सचिव भएपछि २०४० सालदेखि ४४ सालसम्म ४ वर्ष राजनीतिका कारण मुद्दा खेप्नु परेको थियो ।
मुद्दाका कारण थपलियाले केही समय केन्द्रिय कारागारमा बस्नु परेको थियो । थपलियाले पटकपटक गरी ५ वर्ष जेल जीवन विताउनुभयो ।
राजनीतिलाई कमाइको पेसा बनाइनु हुँदैन भन्ने धारणा अवलम्बन गर्ने थपलिया सुरुमा शिक्षण पेसामा आवद्ध हुनुभयो । जनजीवन माबी खैरहनी चितवनमा २०४३ सालदेखि २०५१ सालसम्म प्रधानाध्यापक भएर काम गर्नुभएको थियो। व्यवस्थापन संकायमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गर्नुभएका उहाँ  २०६५ देखि २०६७ सालसम्म चितवन, भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको प्रमुखको जिम्मेवारीमा समेत रहनुभयो । यस्तै २०६८ सालमा मदन भण्डारी फाउन्डेसन चितवनको सस्थापक अध्यक्ष पनि हुनुभयो ।
लामो समय नेकपा एमाले चितवन जिल्ला कमिटीमा प्रभावशाली भूमिका खेल्दै आउदा उहाँ २०७० देखि २०७४ सम्म ४ वर्ष एमाले जिल्ला कमिटीको नेतृत्वमा पनि रहनुभयो । मुलुकमा भएका दुई ठुला आन्दोलनहरु जनआन्दोलन २०४६ र २०६२/०६३ मा नेतृत्वदायी भूमिका खेल्नुभएका उहाँ २०७३ सालदेखि करिव साढे ३ वर्ष बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख राजनीतिक सल्लाहकारको जिम्मेवारीमा रहनुभयो ।
उहाँ  २०७९ पुष १४ गते नेकपा एमाले बागमती प्रदेश सभाको दलको नेता चयन हुनुभयो भने पुष २६ तत्कालीन सरकारमा आर्थिक मामिला तथा योजनामन्त्रीका रुपमा जिम्मेवारीमा हुनुहुन्थ्यो  । हाल थपलिया नेकपा एमालेको केन्द्रीय सदस्य, भरतपुर महानगर पालिका इन्चार्ज एवं पार्टीको केन्द्रिय शिक्षा विभाग उप–प्रमुखको रुपमा पार्टीमा कृयाशील हुनुहुन्छ ।
उहाँले अमेरिका, चीन, सिङ्गापुर लगायतका देश भ्रमण गरिसक्नुभएको छ ।