काठमाडौं । छिमेकी मुलुक भारतको उत्तराखण्डसको नैनिताल जिल्लामा गाडी दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सात जना नेपाली र एक जना भारतिय नागरिक सहित ८ जनाको मृत्यु भएको छ ।
उत्तराखण्ड प्रहरी स्रोतका अनुसार सोमबार राति नैनितालको बेतालघाट नजिकै गाडी सडकबाट १५० मिटर तल खसेको हो । गाडी खाल्डोमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटना भएको खबर प्राप्त भएपछि स्टेट डिजास्टर रेस्पोन्स टिमको टोली घटनास्थलमा पुगेर उद्धारका लागि खटिएको थियो । उत्तराखण्ड एस डि आइ टोली र स्थानीयले मिलेर घटनास्थलबाट मृतक आठ जनाको शव निकालेको छ । दुर्घटनामा परी मृत्यु हुनेमा गाडी चालक राजेन्द्र कुमारसहित (नेपालीहरू) ५० वर्षीय विश्राम चौधरी, ४५ वर्षीय धिरज, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी र ६० वर्षीय गोपाल बस्नेत छन् । भने दुर्घटनामा दुई नेपालीहरू शान्ति चौधरी र छोटु चौधरी घाइते भएका छन् । उनीहरुमध्ये एक जना स्थिति गम्भीर रहेको छ भने एक जना सामान्य रहेको प्रहरीको भनाइ छ । चालक राजेन्द्र कुमार भने भारतीय रहेको भारतीय प्रहरीले जनाएको छ । उनी स्थानीय बेतालघाटका बासिन्दा हुन् ।
मृतक नेपालीहरु बर्दिया जिल्लाको बबईका बासिन्दा रहेको भारतिय प्रहरीले जनाएको छ । मृतकहरु नैनितालको बेतालघाटको उचकोट भन्ने गाउँमा जल जीवन मिसन प्रोजेक्टमा काम गर्ने कामदार हुन । उचकोटमा काम सकेपछि उनीहरूले गाडी भाडामा लिएर टनकपुरहुँदै चम्पावत जिल्ला तर्फ जाँदै थिए।
उनीहरुको शव हलद्वानीस्थित नैनिताल सरकारी अस्पतालमा राखिएको छ ।
यस्तै दुर्घटनाबारे उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले पनि चिन्ता व्यक्त गरेका छन् ।