आगामी वर्ष कार्तिक महिनामा मध्यपुर महोत्सव हुने

17
भक्तपुर ।
भक्तपुर घरेलु तथा साना उद्योग सङ्घ तथा भक्तपुर घरेलु बचत तथा ऋण सहकारी संस्थाद्वारा नयाँ वर्ष २०८१ साल तथा बिस्का जात्राको उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान तथा सङ्घ र बचतको क्यालेन्डर विमोचन कार्यक्रमका प्रमुख अतिथि मध्यपुर थिमी नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले आगामी २०८१ सालको कार्तिक महिनातिर मध्यपुर थिमी महोत्सव गर्ने तयारी गरिरहेको जानकारी गराउनु भयो ।सो अवसरमा प्रमुख श्रेष्ठले त्यसको तयारी स्वरूप यही चैत्र २६ गते उपत्यका व्यापी धिमे बाजा प्रतियोगिता सँगै मध्यपुरमा उत्पादन हुने रैथाने घरेलु उत्पादन मेला एव मौलिक नेवारी खाना महोत्सव र मध्यपुरको प्राचीनता झल्किने गरी फोटो प्रदर्शनी गरेको जानकारी गराउनु भयो ।मध्यपुर धेरै पुरानो सहर भए तापनि आन्तरिक तथा बाह्य पर्यटकको नजरमा पर्न नसकेको कारण अबको १५ वर्ष भित्र मध्यपुरलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले विज्ञहरूसँग राय सुझावहरू सङ्कलन गरिरहेको जानकारी गराउँदै मध्यपुरका तीन सहर थिमी ,बोडे तथा नगदेशलाई फरक फरक रूपमा विकास गर्दै लाने जानकारी गराउँदै यही चैत्र २६ गते भएको रैथाने उत्पादनको संयोजन गरी कार्यक्रम सफल गर्नु भएकोमा घरेलु तथा साना उद्योग सङ्घलाई धन्यवाद व्यक्त गर्नु भयो ।
कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासङ्घका उपाध्यक्ष सत्यनारायण प्रजापतिले नेपाल सरकारको स्वदेशी बस्तु प्रयोग निर्देशिका जारी भएको र जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजनमा सो समिति रहेता पनि भक्तपुरमा क्रियाशील नभएको बताउँदै स्थानीय निकायको पहलमा सो समितिलाई क्रियाशील बनाउन पहल गर्न अनुरोध गर्नुभयो । त्यस्तै सङ्घका निवर्तमान अध्यक्ष वीरेन्द्र जतिले देश विकासको मेरुदण्डको रूपमा रहेको घरेलु उद्योगलाई स्थानीय निकायले संरक्षण र प्रवर्द्धन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
सङ्घका अध्यक्ष प्रेमकृष्ण खर्बुजाले चैत्र २६ सम्पन उपत्यका व्यापी धिमे बाजा प्रतियोगिता सँगै भएको रैथाने उत्पादन मेलामा भक्तपुर घरेलु तथा साना उद्योग सङ्घलाई संयोजनको जिम्मा दिनुभएकोमा आभार व्यक्त गर्दै आगामी दिनमा मध्यपुर थिमी नगरपालिकामा हुने स्थानीय उत्पादन सँग सम्बन्धित कार्यक्रममा सङ्घलाई सहकार्य गर्ने अवसर प्रदान गर्दे विश्वास व्यक्त गर्दै मध्यपुर थिमीलाई सेरामिक्सको जोन तथा नगदेशलाई तरकारी जोन बनाउन पहल गर्नु पर्ने तथा मध्यपुरमा उत्पादन हुने बस्तु तथा सेवाहरूलाई बजारीकरण  गर्नको लागि कोसेली घर सञ्चालन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा घरेलु बचत तथा ऋण सहकारी संस्था अध्यक्ष लक्ष्मण ग्वाछा सङ्घका सचिव श्यामसुन्दर श्रेष्ठ तथा महिला उद्यमी समितिका अध्यक्ष देवका श्रेष्ठले नयाँ वर्ष तथा विस्का जात्राको शुभकामना दिनुको साथै घरेलु तथा साना उद्योग सङ्घको जीवन्तताको लागि स्थानीय निकायको भूमिका बारे चर्चा गर्नुभयो ।