सेनाको जहाज दुर्घटनामा परेका पाइलट गुरुङको निधन

467

बाजुरा: बाजुराको कोल्टी विमानस्थलमा अवतरण क्रममा दुर्घटनामा परेको नेपाली सेनाको स्काई ट्रकका पाइलट कैलाश गुरुङको निधन भएको छ ।

सुर्खेतबाट हुम्लाका लागि उडेको जहाज मौसम खराब भएपछि बाजुराको कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो । दुर्घटनामा नेपाली सेनाका प्रमुख सेनानी समेत रहेका पाइलट गुरुङको च्यापिएर जहाज भित्रै निधन भएको हो ।

नेपाली सेनाको कल साइन ए ०४८ को स्काइ ट्रक आज मध्यान्ह १२ बजे बाजुराको कोल्टी विमानस्थल अवतरणका क्रममा धावनमार्गबाट करिब १० मिटर बाहिर दुर्घटना गएर पल्टिएको हो ।

सैनिक प्रवक्ता सहायक रथी झंकरबहादुर कडायतका अनुसार खाद्यसंस्थानले रिजर्भ गरेको  विमान सुर्खेतबाट हुम्लाका लागि उडेको थियो । मौसमी प्रतिकुलताका कारण कार्गो विमानले बाजुराको कोल्टीमा अवतरण प्रयास गरेको थियो ।

बाजुराको सदरमुकाम मार्तडीबाट घटनास्थल एक दिनको पैदल दुरीमा रहेको छ । अहिले कोल्टीमा रहेको विमानस्थल सुरक्षा गार्ड र नेपाली सेनाको टोलीले उद्धार गरेको थियो ।

नेपालगन्जबाट भारतीय पर्यटक लिई हुम्लाको सिमीकोटका लागि उडेको सीता एयरको जहाज मौसम खराबीका कारण अवतरण हुन नसक्दा कोल्टी विमानस्थलमा अवतरण गरिएको प्रहरी नायब निरीक्षक भाटले बताए ।

दुर्घटनामा नेपाली सेनाका सुबेदार पूर्णबहादुर खड्का र अनिता आले गम्भीर घाइते भएका छन् ।“अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर जहाज धान खेतमा पल्टिएको हो,” भाटले भने । दुर्घटनापछि जहाजमा लागेको आगो प्रहरी र स्थानीयवासीले निभाएका थिए ।

गम्भीर घाइते खड्का र आलेलाई उपचारका लागि सीता एयरको जहाजबाट अहिले नेपालगन्ज लगिएको छ । घाइतेसँगै पाइलट गुरुङको शवसमेत नेपालगन्ज लगिएको छ ।