गायिका अन्जु श्रेष्ठको नयाँ गीत खोला जस्तो जिन्दगी सार्वजनिक

48

भक्तपुर । गायिका अन्जु श्रेष्ठको नयाँ गीत खोला जस्तो जिन्दगी सार्वजनिक भएको छ । कवि तथा गीतकार शिव पलाँसको शब्द तथा टिका दाहालको संगीतमा रहेको ‘खोला जस्तो जिन्दगी’ गीत गायिका श्रेष्ठको आवाजमा विहिबार युटुव च्यानल मार्फत भिडियो सहित सार्वजनिक भएको हो ।

उदयराज पौडेलको संगीत संयोजनमा तयार भएको यस गीतको म्युजिक भिडियोमा चर्चित कलाकार जीवन भट्टराई र स्नेहा भट्टराईको मुख्य अभिनय रहेको छ भने बाल कलाकारको भूमिकामा प्राईसे श्रेष्ठलाई देख्न सकिन्छ ।
राजेश पुमा राईको निर्देशन तथा दिपेन्द्र गौतमको पोडक्सनमा निर्माण भएको खोला जस्तो जिन्दगीलाई उत्सव दाहालले छायांकन गरेका हुन् भने विकाश दाहालले सम्पादन गरेका हुन् ।

जीवन दर्शन र प्रेमको संयोजन बोकेको यस गीत र गीतमाथी बनेको भिडियोमा बाबु छोरी विचको गहिरो कथालाई कलात्मक रुपमा चित्रण गरिएको छ । कथामा पिता र छोरी विचको भावनात्मक सम्बन्धलाई प्रस्तुत गरिएको छ । जहाँ छोरीलाई राम्रो गायिका बनाउनका लागि पिताले निर्वाह गरेको भूमिका देख्न सकिन्छ । आफ्नो बुवाको सपना साकार पार्न गायनमा उदाएकी श्रेष्ठका पिताको स्वर्गारोहण भै सकेको छ । उनलाई गायिका बनाउनका लागि बुवाले देखेको सपना र ति सपना पुसा गर्न गरेको सहयोगको शंवेदनशिल कथा यस भिडियोले बोलेको छ ।

करिव १ दशक देखी निरन्तर नेपाली संगीत क्षेत्रमा क्रियाशिल गायिका श्रेष्ठको शब्द र अभिनयमा समेत धेरै गीत सार्वजनिक छन् । विभिन्न अवार्डबाट सम्मानित उनका यस अघि आँखा बन्द, खोजिरहेछु, नहेरेझैं गर्ने लगायतका गीतहरु सार्वजनिक छन् भने केही दिन पहिले मात्रै नहेरन यसरी कान्छा गीत सार्वजनिक भएको छ । हरेक बर्ष तिज गीत सार्वजनिक गर्दै आएकी श्रेष्ठका सिउँदोमा सिन्दुर, रातो साडि, तिजको लहर, भेलवेटको चोली रंगीयो तिजले लगायतका गीतहरु समेत सार्वजनिक छन् ।