विश्वकै होचा खगेन्द्र आइसियुमा

531

पोखराः विश्वका होचा व्यत्तिको रुपमा विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको स्वास्थ्यमा थप समस्या आएपछि आज सघन उपचारकक्ष (आइसियु) मा भर्ना भएका छन् ।

खगेन्द्रको स्वास्थ्यमा समस्या देखा परेकाले एक हप्तादेखि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको थियो । तर, मंगलबार बिहान ९ः४५ बजे खाना खाँदै गर्दा बेहोस भएपछि थप उपचारका लागि आइसियुमा भर्ना गरिएको उनका बाबु रुपबहादुर थापा मगरले बताए ।

खगेन्द्रको स्वास्थ्यमा क्रमिक सुधार आएको उपचारमा संलग्न चिकित्सक कमल कुमालले बताए । उनका अनुसार हाल खगेन्द्रको स्वास्थ्यमा क्रमिक सुधार आएपनि ब्लड प्रेसरमा समस्या देखिएको छ ।

सामान्य बोलचाल तथा दिसा पिसाव समेत गरेका खगेन्द्रको ब्लड प्र्रेसरमा समस्या भएपछि हाल त्यसको उपचारको लागि औषधि दिइएको डा. कुमालले बताए ।

बुधबारसम्म ब्लड प्रेसरमा थप सुधार नभए काठमाडौँ रिफर गर्नुपर्ने अवस्था समेत आउनसक्ने उनले बताए ।

खगेन्द्रको स्वासप्रश्सावमा समस्या, हेमोग्लोबिन कमी, सेतो रगत आवश्यक भन्दा बढी देखिएको कारणले गर्दा एक हप्तादेखि अस्पतालमा उपचार भइरहेको थियो ।

मंगलबार एकाएक उनको स्वास्थ्यमा समस्या आएपछि आइसियुमा राखिएको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर राना मगरले बताए ।

आइरनको कमी तथा हावापानीको कारणले खगेन्द्रको स्वास्थ्यमा समस्या आएको हुन सक्ने चिकित्सकहरु बताउँछन् ।

खगेन्द्र नेपालकै गौरव भएकाले उनको उपचारमा अस्पतालले सहयोग गरेको प्रतिष्ठानका अध्यक्ष राना मगरले बताए ।

खगेन्द्र परिवारकोे आर्थिक अवस्था कमजोर भएकोले प्रतिष्ठानले विभिन्न अस्पताल तथा संंघ संस्थाबाट र व्यक्तिको सहयोगले स्वास्थ्योपचार गर्दै आएको छ ।

बागलुङ धुल्लुवासकोट स्थायी घर भएका खगेन्द्र हाल पोखराको सृजना चोकमा बस्दै आएका छन् । उनले सबैभन्दा होचो व्यक्तिको विश्व कीर्तिमान कायम गरेको ८ महिनामै रेकर्ड भंग भएको थियो । उनलाई अझै पनि विश्वका विभिन्न देशले निमन्त्रणा गर्ने गरेका छन् ।