स्वास्थ्य संस्था टाढा हुँदा बाटैमा सुत्केरी, जुम्ल्याहा शिशुमध्ये एकको मृत्यु

479

बाजुरा : साबिकको साप्टा गाविस रुणी गाउँकी ४० वर्षीय सुमादेवी धामीलाई ३ दिनअघि नै सुत्केरी व्यथा लागेपनि परिवारलाई घरमै सुत्केरी भइहाल्छिन भन्ने लागेको थियो। त्यही आशामा कुर्दाकुर्दै दोस्रो दिन पनि बित्यो। व्यथाले झन च्याप्दै गयो,तेस्रो दिन बल्ल पति कृष्णले छिमेकीहरुलाई गुहारे। स्वास्थ्य चौकी लैजाने सुर कसे। रुणीबाट साबिक गाविसको स्वास्थ्य चौकी पुग्न सामान्य व्यक्तिलाई पनि कम्तीमा ६ घण्टा लाग्छ। अक्कले भीरको कहाली लाग्दो बाटोमा व्यथाले च्यापेकी गर्भवतीलाई बर्कु नपुग्दै ६ घण्टा बित्यो। बर्कुबाट स्वास्थ्य चौकी पुग्न थप ६ घण्टा लाग्ने भयो। व्यथा सहँदै अघि बढेका उनीहरु राति अबेर स्वास्थ्य चौकी पुगे। अनमी सविता चौधरीले चेकजाँच गर्दा अप्ठेरो अवस्था रहेको भन्दै कोल्टी लैजान सल्लाह दिइन्। चौकीदेखि कोल्टी पुग्न कम्तीमा ६ घण्टाको बाटो थियो। उनीहरु राति नै कोल्टीका लागि हिँडे त्यहाँ नपुग्दै सुर्मा सुत्केरी भइन्। गर्भमा जुम्ल्याहा रहेछन् २ घण्टाको फरकमा २ वटा शिशु जन्मे दोस्रो जन्मँदा पहिलोको मृत्यु भइसकेको थियो। ‘कोल्टीका लागि रातारात हिँड्यौं तर बाटोमै सुत्केरी भइन्’ पति कृष्णले भने।