देशभर २७ पुगे हैजा संक्रमित, उपत्यकामा सबैभन्दा बढी

17

काठमाडौँ । मुलुकभर हैजा संक्रमितको सङ्ख्या २७ पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार  मुलुकभर संक्रमितको सङ्ख्या २७ पुगेको हो ।

साताअघि ललितपुरमा देखिएको हैजा अहिलेसम्म पाँच जिल्लामा २७ जनामा पुष्टि भएको छ।   सबैभन्दा बढी उपत्यकाको ललितपुरमा १६ र काठमाडौँमा एक गरी उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ । यसै गरी कैलालीमा आठ र प्युठानमा दुई जनालाई हैजा पुष्टि भएको छ । भक्तपुर चाँगुनारायणका एक जनालाई हैजा पुष्टि भए पनि उनको ललितपुरमै गणना गरिएको छ ।

हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति संक्रामक झाडापखालासम्बन्धी रोग हो । हैजालगायत पानीजन्य रोगहरूबाट बच्न सरसफाइमा ध्यान दिन र पानी उमालेर मात्र पिउन स्वास्थ्य क्षेत्रका विज्ञले सुझाव दिएका छन् ।

गर्मी र बर्खाको समयमा झाडापखाला, हैजा तथा पानीजन्य रोग फैलिने हुँदा सतर्कता अपनाउन सुझाव  महाशाखाले दिएको छ ।