भक्तपुरमा पहिरोले गर्भवती महिला सहित ५ जनाको मृत्यु, १ जना घाईते, ४१ जनाको उद्धार

173

भक्तपुर।
दुई दिनदेखी परेको अविरल वर्षाले भक्तपुरमा ५ जनाको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलाँसेमा र वडा नं. ८ को नैचालमा पहिरो जाँदा ५ जनाको मृत्यु भएको हो ।
पलाँसेस्थित मगरगाउँमा पहिरोले जस्ताको टहरा पुरिँदा कालिकोट सानी त्रिवेणी नगरपालिका–१ घरभई हाल सूर्यविनायक–९ पलाँसे बस्ने गणेश बमको परिवारका ३ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बमकी ९ महिनाकी गर्भवती श्रीमती २४ वर्षिया दमिला शाही, बमकी ४ वर्षिया छोरी रिया बम र साली १४ वर्षिया मनिसा शाही छन ।
त्यसैगरी सूर्यविनायक नगरपालिका–९ नैचालमा पनि पहिरोमा परी एकै परिवारका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३७ वर्षिय मनु तामाङ र ५० वर्षिया मसली तामाङ भएको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभयो ।

भक्तपुरमा पहिरोमा परेर एक जना घाईते भएका छन । उनको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । यस्तै भक्तपुर आदर्शस्थित सिद्धि स्मृति अस्पतालमा उपचाररत दुई जनाको उद्धार गरी भक्तपुर अस्पताल लगिएको छ ।
यसैगरी विभिन्न स्थानको डुवान र पहिरोको जोखिममा रहेका २० महिला र २१ पुरुष गरी ४१ जनाको उद्धार गरिएको निरौलाले बताउनुभयो ।


जिल्लामा विपदका घटनामा खोज तथा उद्धारका लागि नेपाल प्रहरीका ३५० जना, सशसत्र प्रहरी बलका १७१ र नेपाली सेनाका ११७ जना सुरक्षाकर्मी परिचालनन गरिएको प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले बताउनुभयो ।
उहाँले वर्षा हुने क्रम नरोकिएको र खोला तथा नदी नालाको सतह बढ्ने क्रमसँगै डुवान, बाढी पहिरोको जोखिम थप बढेकोले अति आवश्यक काममा बाहेक घरबाट ननिस्कन र उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गर्नुभएको छ ।
उहाँले बाढीको अवलोकन गर्ने क्रममा नदिका पुलहरुमा नबस्न पनि आग्रह गर्नुभ    एको छ । “बाढीले सबै पुलहरु उच्च जोखिममा परेको छ । पुलमा बसेर बाढीको अवलोकन गर्दा अप्रिय घटना हुन सक्छ,” उहाँले भन्नुभयो ।


जिल्ला विपद व्यवस्थापन समिति अन्तर्गत खोज तथा उद्धार, राहत सामग्री वितरण लगायतका कार्यमा नेपाल रेडक्रस सोसाईटी भक्तपुरका करिव १ हजार स्वयम् सेवक परिचालन गरिएको नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाका सभापति परशुराम पाण्डेले बताउनुभयो ।
रेडक्रसले २० परिवारलाई राहत वितरण गरेको सभापति पाण्डेले बताउनुभयो । उहाँका अनुसार सूर्यविनायक नगरपालिकाको वडा १ र ४ मा दुई÷दुई सेट, वडा नं. ८ मा १० सेट र वडा नं. ५ मा ५ सेट गैरखाद्य सामग्री वितरण गरिएको छ । उक्त सेटमा ५ जनालाई पुग्ने लत्ताकपडा, खाना पकाउने भाँडा वर्तन, ओढ्ने मण्डी, त्रिपाल, प्लाष्टिकको बाल्टिनलगायतका सामग्री रहेको छ ।
यसैगरी चाँगुनारायण नगरपालिकाका विभिन्न वडामा ५ थान त्रिपाल र ३०० मिटर प्लाष्टिक वितरण गरिएको पाण्डेले जानकारी दिनुभयो ।
अविरल वर्षाले भक्तपुरको हनुमन्ते, खस्याङखुसुङ लगायतका नदि एवम् खोलामा पानीको सतहले बढेर भक्तपुरको मूख्य सडक अरनिको राजमार्ग र सल्लाघारी पेप्सीकोला सडक अवरुद्ध भएको छ ।
अरनिको राजमार्गको थिमि राधेराधे खण्डमा पानी पसेका कारण एक लेनमात्र चालु रहेको छ भने सल्लाघारी–पेप्सीकोला सडकको दुवाकोट मोडमा कासंखोलाको सतह बढेकोले सो सडक पनि अवरुद्ध भएको छ । त्यसैगरी कौशलटारबाट बालकोट जाने पुलमा जोखिम बढेकाले यातायात सञ्चालनमा रोक लगाएको छ ।
यसैबीच भक्तपुर उद्योग वाणिज्य संघले राहत सामग्री उपलब्ध गराएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरको अनुरोधमा संघले १० बोरा चामल, नुन, तेल र दाल उपलब्ध गराएको हो । उक्त सामग्री तत्काल पिडितलाई वितरण गरिने सहायक प्रजिअ निरौलाले बताउनुभयो ।