ज्येष्ठ नागरिक दिवसको अवसरमा चाँगुनारायणमा ज्येष्ठ नागरिक सम्मान

7

चाँगुनारायण नगरपालिकाले ३४औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा “सम्मानित बुढ्यौली: विश्वव्यापी रूपमा स्याहार तथा सहयोग पद्धतिको सबलीकरण” भन्ने नाराका साथ विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ। कार्यक्रममा नगरपालिकाले ९० वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई विशेष सम्मान गर्दै स्वास्थ्य शिविर सञ्चालन गरेको थियो।

नगर प्रमुख जीवन खत्रीले ९० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै न्यानो कपडा, फलफूल, र पोसिलो खानेकुरा वितरण गर्नुभएको थियो। उहाँले ज्येष्ठ नागरिकहरूलाई जिउँदो इतिहासको रूपमा उल्लेख गर्दै नयाँ पुस्ताले उनीहरूबाट धेरै कुरा सिक्न सकिने कुरा बताउनुभयो। साथै, चाँगुनारायण नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी र स्विस रेडक्रससँग साझेदारी गरी स्वास्थ्य केन्द्रित कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी पनि दिनुभयो।

स्वास्थ्य शिविरमा १९७ जना ज्येष्ठ नागरिकहरूलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको थियो। यसमा साधारण स्वास्थ्य परीक्षण, ईसिजी, आँखा परीक्षण र प्रयोगशाला परीक्षण जस्ता सेवाहरू उपलब्ध गराइएको थियो। शिविरमा नेपाल मेडिकल कलेज, तिलगंगा आँखा अस्पताल, र चाँगुनारायण नगर अस्पतालले सहकार्य गरेका थिए।

त्यसैगरी, नगरपालिकाका सबै वडाहरूमा ९० वर्षभन्दा माथिका ८७ जना ज्येष्ठ नागरिकहरूलाई दोसल्ला ओढाई सम्मान गर्दै न्यानो कपडा, फलफूल, र पोसिलो खानेकुरा वितरण गरिएको थियो।