सूर्यविनायकका बाढी पहिरो पिडितलाई सांसद थापाको खाद्यान्न सहयोग

9

भक्तपुर,
प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले भक्तपुरका बाढी पहिरो पिडितलाई खाद्यान्न सामाग्री सहयोग गरेको छ । सांसद थापाले सूर्यविनायक नगरपालिकाको वडा नं ८,९ र १० का बाढी–पहिरो पिडितलाई मंगलवार खाद्यान्न सहयोग गरेको हो ।
थापाको सचिवालय मार्फत उक्त खाद्यान्न सहयोग गरेको हो । बडादशैंको मुखमा गत असोज १० गते रातीदेखी परेको अविरल वर्षाका कारण सूर्यविनायक नगरपालिकाको ८, ९ र १० मा बाढी पहिरोले ५ जनाको मृत्यु हुनुका साथै ठूलो क्षती गरेको थियो ।


थापाका स्वकीय सचिव शुभाशिष ढकाल अनुसार चामल, दाल, नुन, तेल, मसला लगायतका खाद्य सामाग्री वितरण गरिएको हो । ढकालले वास्तविक पिडित पहिचान गरी खाद्यान्न सामाग्री वितरण गरिएको बताउनुभयो । बडादशैंको मुखमा बाढी–पहिरोले आहत भएका पिडित परिवारलाई खाद्यान्न सहयोगले पिडामा मलहम लगाएको अनुभुती भएको उहाँले बताउनुभयो ।
खाद्यान्न वितरणका लागि थापाका स्वकीय सचिव ढकाल, नेपाली कांग्रेस प्रदेश सभा सभापति एवम् सूर्यविनायक नगरपालिका वडा नं. २ का वडाअध्यक्ष प्रदिप कार्की, वडा नं. ९ का वडाअध्यक्ष भगवान केसी, नेपाली कांग्रेस सूर्यविनायक नगर सचिव विश्वराम थापालगायतको सहभागिता रहेको थियो ।