काठमाडौ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज कात्तिक १६ गते शुक्रबारको दिन कुनै पनि चाडपर्व नभएको जनाएको छ । आज औंसीको दिन भए पनि तिहारको कुनै पर्व भने नपरेको समितिको भनाइ छ ।
यो वर्ष तिथिको घटबढका कारण औंसीका बेला सूर्योदय भएकाले आजको दिन कुनै पर्व नपरेको समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले बताए ।
विहीबार बिहान कुकुर पूजा र साँझ लक्ष्मीपूजा गरिएको छ । शुक्रबार यमपञ्चकको कुनै पर्व नभएको र औंसीसहित कार्तिक शुक्ल प्रतिपदाका दिन गरिने गाई पूजा शनिबार अर्थात् कात्तिक १७ गते परेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यद्यपि प्रत्येक महिनाको औंसीलाई पर्व मानिन्छ । औंसीमा विशेषगरी पितृकर्म हुने गर्छ ।
नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औंसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औंसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ । गाईलाई गौमाताका रूपमा सम्मान गरिने भएकाले वर्षका ३६५ दिन नै गाई पूजा गर्न पनि सकिन्छ । तर तिहारका अवसरमा गरिने गाई पूजा भने शनिबार नै गर्नुपर्ने समितिको भनाइ छ । यसैले गाईतिहार पनि शनिबार नै मनाइन्छ ।
कात्तिक १७ गते शनिबार भने गाईगोरु पूजा, गोवद्र्धनपूजा, बलिपूजा, हलीतिहार, म्ह (आत्म) पूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि गरी छवटा पर्व एकै दिन परेको समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रोमा उल्लेख छ ।
तिथिका घटबढका कारण यस वर्ष पाँच दिनमा सकिने दोस्रो चाड तिहार यस वर्ष ६ दिनसम्म लम्बिएको छ । कार्तिक कृष्ण त्रयोदशीका दिन सुरु हुने तिहार यस वर्ष कात्तिक १३ गते मंगलबार सुरु भएको थियो ।
यो पर्व कार्तिक शुक्ल द्वितीयाका दिन कात्तिक १८ गते आइतबार दिदीबहिनीका हातबाट दाजुभाइले विधिपूर्वक टीका लगाएपछि सकिन्छ । टीकाको साइत बिहान ११ बजेर ३७ मिनेटमा छ ।