काठमाडौं । दायित्व वाङ्मय प्रतिष्ठानको आयोजना तथा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष एवं पूर्व प्रधानन्यायाधीश सम्माननीय खिलराज रेग्मीज्यूको प्रमुख आतिथ्यमा विभिन्न चार पुरस्कार तथा पाँच साहित्यिक कृतिहरु लोकार्पण गरिएको छ ।
विशिष्ट साहित्यिक व्यक्तित्वहरुलाई पुरस्कृत गर्दै र कृतिहरु लोकार्पण गर्दै प्रमुख अतिथि सम्माननीय श्री रेग्मीले भन्नुभयो— दायित्व वाङ्मय प्रतिष्ठानले आफ्नो स्थापनाकालदेखि विभिन्न विशिष्ट व्यक्तित्वहरुलाई सम्मानित गर्दै जानु, पत्रिकालाई समेत निरन्तरता दिँदै जानु र प्रतिष्ठानको आफ्नै भवन निर्माण हुनु भनेको संस्थापन पक्षको तपस्याको प्रतिफल हो । जुन कठिन साधनाबाट मात्र सम्भव हुन्छ ।
उक्त कार्यक्रममा रु. २५ हजार राशिको शङ्कर कोइराला आख्यान पुरस्कार डा. राजेन्द्र विमललाई, रु. २५ हजार राशिको कुमार–सरस्वती साहित्य पुरस्कार प्रा.डा. अभि सुवेदीलाई, रु. ५१ हजार १ सय ११ राशिको चूडामणि व्याकरणकोश पुरस्कार प्रा. मुकुन्दशरण उपाध्यायलाई र रु. ५५ हजार ५ सय ५५ राशिको रामप्रसाद पन्त वाङ्मय पुरस्कार प्रा.डा. गोविन्द भट्टराईलाई अर्पण गरिएको थियो ।
सो अवसरमा शङ्कर कोइराला र अनिल कोइरालाद्वारा संयुक्त रुपमा लेखिएको उपन्यास डाँकु घिन्ताङसिङ, रामप्रसाद पन्तद्वारा लेखिएको नियात्रासङ्ग्रह पुनरावृत्ति, रामप्रसाद आचार्यद्वारा लेखिएको निबन्धसङ्ग्रह कठै मेरो काँठ, नारायण मरासिनीद्वारा लेखिएको यात्राकाव्य प्रेमसरोवर र दायित्व साहित्यिक पत्रिकाको १५० अङ्क पनि लोकार्पण गरिएको थियो ।
उक्त कार्यक्रममा पुरस्कृत तथा पुरस्कार संस्थापक व्यक्तित्वहरुका बारेमा डा. तुलसी भट्टराई र लोकार्पित कृतिहरुका बारेमा प्रा.डा. लेखप्रसाद निरौलाले बोल्नुभएको थियो भने पुरस्कार संस्थापकको तर्फबाट अनिल कोइराला र चूडामणि गौतमले बोल्नुभएको थियो ।
दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा डा. नम्रता पाण्डे र यादव भट्टराईले पनि प्रतिष्ठानद्वारा सञ्चालित क्रियाकलापहरु, पुरस्कारहरु र कृति प्रकाशनका बारेमा आ–आफ्ना विचारहरु व्यक्त गर्नुभएको थियो ।