भक्तपुर, पुस ९ । चाँगुनारायण नगरपालिकामा जिल्लाकै पहिलो खानेपानी गुणस्तर परीक्षण मिनी प्रयोगशाला शुभारम्भ गरिएको छ ।
भक्तपुरका चार नगरपालिकाहरुमध्ये चाँगुनारायण नगरपालिकाले पहिलो मिनी प्रयोगशाला सुरु गरेको हो । नगरवासीहरुलाई सुरक्षित खानेपानीमा पहुँच पुर्याउने लक्ष्यका साथ सो ल्याबको सुरुवात गरिएको नगरपालिकाले जनाएको छ ।
नेपाल सरकारले लिएको दिगो विकास लक्ष्य ६.१ अन्र्तगत ‘सबैका लागि सुरक्षित खानेपानी सुनिश्चित गर्ने’ उद्देश्य हासिल गर्नको लागि नगरपालिकामा संचालित सुरक्षित पानी र उत्थानशील नगरपालिका (Building a Water Safe Resilient Municipality )(SARWACHA) सर्वोच परियोजनासँगको साझेदारी सहयोगमा मंगलबार खानेपानी गुणस्तर परीक्षण मिनी प्रयोगशाला सुरु गरिएको हो ।
मंगलबार सुरु भएको मिनी प्रयोगशालामा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ मा उल्लेखित २७ वटामध्ये १४ वटा आधारभूत पारामितिहरु (धमिलोपन, तामक्रम, हाइड्रोजन विभव एवम्, विद्युतीय संवाहकता, फलाम, क्लोराइड, अमोनिया, नाइट्रेट, फोस्फेट, आर्सेनिक, क्लोरिन अवशेष, कुल कडापन, इकोली, कुल कोलिफम) परीक्षण गरिन्छ । थप अन्य पारामितिहरु परीक्षणको लागि ल्याबको क्षमता थपिदै लगिने छ । मिनी प्रयोगशालालाई दिगो रुपमा संचालन गर्नको लागि चाँगुनारायण नगरपालिकाले खानेपानी गुणस्तर अनुगमन तथा गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन कार्यविधि २०८१ समेत पास गरि सकेको छ ।
भक्तपुर जिल्लामा रहेको नगरपालिकाहरुमध्ये चाँगुनारायण नगरपालिका खानेपानी गुणस्तर परीक्षण प्रयोगशाला संचालनमा ल्याउने पहिलो नगरपालिका हो भने काठमाण्डौं उपत्यकाको तेस्रो नगरपालिका हो । यसअघि गोदावरी र महालक्ष्मी नगरपालिकाले खानेपानी गुणस्तर परीक्षण ल्याब संचालनमा ल्याइसकेका छन् ।
सो ल्याबको उद्घाटन चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री र प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमेगाइँले संयुक्त रुपमा गरेका थिए । सो क्रममा नगर प्रमुख खत्रीले एन्फो लगायतको सहयोगी संस्थाले नगरपालिकासँग मिलेर सुरक्षित खानेपानी प्रणालीको दिगोपनको लागि निजि, वित्तीय क्षेत्रहरू र स्थानीय समुदायहरूसंग मिलेर सहकार्यका कार्यक्रमहरु अगाडी बढाइरहेको बताए । उनले खानेपानी, सरसफाइ, स्वच्छता र वातावरण संरक्षणको क्षेत्रमा समेत एन्फोसँगको सहकार्यमा कार्यक्रमहरु अगाडि बढी रहेको बताए ।
एन्फोको कार्यक्रम निर्देशक राजेन्द्र श्रेष्ठले मिनी ल्याब स्थापना गर्नु भन्दा पनि मिनी ल्याबको दिगोपना चुनौतिपूर्ण बिषय भएको उल्लेख गर्दै खानेपानी गुणस्तर परीक्षणमा समुदाय र सरोकारवाला निकायहरुको पहुँच बढाउने बिषयलाई नगरपालिकाले प्राथमिकतामा राख्नु पर्ने बताए ।
हाल नगर क्षेत्रभित्रको खानेपानी गुणस्तर परीक्षण सेवाको लागि अन्य ठाउँमा रहेको परीक्षण प्रयोगशालामा जानुपर्ने बाध्यता रहेको छ । यस खानेपानी गुणस्तर परीक्षण प्रयोगशालाको स्थापना पश्चात सुरक्षित खानेपानीबारे जनचेतना अभिवृद्धि गरि जनस्वास्थ्य सुधारमा योगदान गर्ने उद्देश्यले मिनी ल्याब स्थापनाको अवधारणा विकास गरिएको हो । नगर क्षेत्र र बाहिरको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरु, विद्यालयहरु, स्वास्थ्य संस्थाहरु, होटल व्यवसायीहरु, निजि जारको पानी उत्पादन र बिक्री वितरण गर्ने कम्पनीहरु, टंयाङ्कर व्यवसायीहरु लगायत अन्य संघ संस्थाहरुले समेत खानेपानी गुणस्तर परीक्षणको लागि नगरपालिकाबाट संचालित ल्याबबाट सेवा लिन सकिनेछ ।
मिनी ल्याबमा खानेपानीको गुणस्तर परिक्षण गरेवापत नगरपालिकाले निर्धारण गरेको शुल्क तिरेर सेवा लिन सकिनेछ । मिनी ल्याबको स्थापना पश्चात खानेपानी सुरक्षा योजनाको कार्यान्वयन, सुरक्षित खानेपानी समुदाय सुनिश्चित, तीन तारे विद्यालय निर्माणमा समेत ल्याब मार्फत प्रदान गरिने सेवाबाट सहयोग पुग्ने धारणा चाँगुनारायण नगरपालिकाको वास संयोजक सुरेन्द्र लामिछानेले जानकारी दिए ।
खानेपानी गुणस्तर परीक्षण मिनी ल्याब संचालनको लागी नगरपालिकाको तर्फबाट खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) शाखाले आवश्यक समन्वय र सहजीकरणको लागि काम गर्ने बताए ।
चाँगुनारायण नगरपालिकासंँको समन्वय र लागत साझेदारीमा नेदरल्याण्डको Dopper को आर्थिक सहयोगमा सामाजिक समावेशको समान विचारधारा भएका संस्थाहरू सिमावी (Simavi) र Biruwa Adviser नामक संस्थासंगको सहयोगमा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) मार्फत ल्याब सञ्चालनको लागि सहयोग प्राप्त भएको हो ।
कार्यक्रममा एन्फोको तर्फबाट सिनियर म्यानेजर प्रशन्न प्रधान, विभोर महर्जन, मेरिना महर्जन, इन्जिनियर सन्तोष दाहाल समेतको उपस्थिति रहेको थियो ।