अभिभावकले आँखै अगाडि आफ्ना सन्तानको प्रस्तुति देखेपछि…

86

भक्तपुर । पुसकाे पारिलाे घाममा एकातिर अभिभावक, अर्काेतिर तिनीहरूका सन्तान र शिक्षकहरू । न्यानाे घाम छाेड्न मन नलागेकाे दिन । त्यही पारिलाे घामसँगै विद्यालयकाे आँगनमा पालैपालो विद्यार्थीहरू अगाडि आए । अनि विद्यार्थीले पालैपालो आफूसँग भएकाे प्रतिभा निर्धक्कसाथ आफ्ना आमाबुवासामु प्रस्तुत गरे ।

ससाना विद्यार्थीहरूमध्ये काेहीले नाटक प्रस्तुत गरे, काेहीले नृत्य । काेहीले गीत गाए । काेहीले विभिन्न हाउभाउ गरे । खेल्दै, सिक्दै पढाइको अभ्यास गरेका ससाना नानीबावुले विभिन्न विषय र पाठसँग सम्बन्धित क्रियाकलाप गरे । त्यस क्रममा काेहीले दाैडिँदै रङ्ग चिने, अङ्क चिने, विभिन्न राष्ट्रिय प्रतीक चिने । कम्मर मर्काउँदै नाचेर खेलमा आधारित पढाइको जीवन्त प्रस्तुति देखाए ।

अझ, ससाना नानीबाबुले मिस्टिकामार्फत् वातावरण जगेर्ना, वनजङ्गलकाे महत्वबारे गरेकाे हाउभाउले धेरै आमाबुबाकाे मन छाेयाे । वातावरण जाेगाउनका लागि नानीबाबुकाे प्रयास र अनुरोधलाई सहभागी आमाबुबाले मनन् गरे । विद्यालयकाे कक्षा नर्सरी, एलकेजी, युकेजी र कक्षा १ का ससाना बाबुनानीकाे हँसिलो मुहारका साथ रमाइलो प्रस्तुतिकाे अवसर मिलाएको हाे, भक्तपुरको कमलविनायकस्थित राेम्वस सेकेण्डरी स्कूलले ।

बालबालिकाकाे सर्वाङ्गीण विकासका लागि उपयुक्त शैक्षिक गन्तव्य सावित भइरहेकाे कमलविनायक टाउनप्लानिङस्थित उक्त विद्यालयले मंगलबार विद्यालय प्राङ्गणमा प्रि- स्कुल ओलम्पियाड नाम दिएर गरेकाे कार्यक्रममा आँखै अगाडि आफ्ना सन्तानको प्रस्तुति देखेर अभिभावक दंग परे । फूलजस्ताे राम्रो, पुतलीझैं फुरफुर गर्दै पढ्न, लेख्न सिकिरहेका बालबालिकाहरूमा रहेकाे प्रतिभा अभिभावककाे आँखै अगाडि फिँजिदा अभिभावकहरू खुसीले ताली बजाउन मग्न भए ।

ससाना नानीबाबुहरूले फन गेम खेले। कक्षागत रूपमा विद्यार्थीले गरेकाे जाेडदार प्रस्तुति देखेर अभिभावक दङ्ग भए । मन्टेश्वरी विधि अनुसार राेम्वस सेकेण्डरी स्कुलले शैक्षिक गतिविधि गरिरहेकाे र अभिभावकलाई त्यसकाे जानकारी साे कार्यक्रम गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल डा. राजेन्द्र काेजूले बताए । उनले पछिल्लो समयमा मन्टेश्वरी शिक्षाबारे अमूक विद्यालयहरूले भ्रम फैलाइरहेकाे उल्लेख गर्दै स्कुल छनाेटमा अभिभावकले ख्याल गर्नुपर्ने विषयमा जानकारी दिन अभिभावककै उपस्थितिमा प्रि- स्कुल ओलम्पियाड गरेकाे जानकारी दिए ।

कक्षा नर्सरीदेखि कक्षा १ सम्म अध्ययनरत विद्यार्थीहरूले खेल्दै सिकाउँदै विधि अनुसार गरिएका क्रियाकलापकाे प्रस्तुति निकै आकर्षक रहेकाे अभिभावकहरूले प्रतिक्रिया दिए । ओलम्पियाडमा विभिन्न थिमेटिक गेमहरू, मन्टेश्वरी विधिकाे प्रदर्शन गरिएको विद्यालय व्यवस्थापक सरिता काेजूले बताइन् ।