भरतपुर प्रकरणमा आज सर्वोच्चबाट फैसला आउने संभावना टर्यो

472

काठमाडौं । भरतपुर महानगरपालिका वडा नं. १९ मा मतपत्र च्यातिएपछि पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाई गर्ने पालो आइतवार नआउने भएको छ ।

उक्त रिटको सुनुवाइका लागि न्यायाधीशहरु विश्वम्भर प्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउतको इजलाशमा ‘ध’ नम्बरमा पालो परेकाले आइतवार सुनुवाई हुने संभावना नरहेको हो । राजनीतिक दल र सरकारले समेत पर्खिरहेको भरतपुर विवादको पालो आईतवार नआएमा केहि दिन ढिला हुने देखिएको छ ।

प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले मतगणना सूचारु गराउन माग गर्दै संसद अवरोध समेत गरिरहेको समयमा निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नं– १९ मा पुनः मतदान गराउने गरि जेठ २० गते निर्णय गरेको थियो । आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ दफा ५० को उपदफा (१)को खण्ड (ख) र उपदफा (४) बमोजिम सो वडाको सम्पूर्ण मत अवैध घोषित गरी पुनः मतदान गराउने निर्णय गरेको थियो ।

आयोगको उक्त निर्णयको बिपक्षमा परेको रीटका सम्बन्धमा सर्वोच्चले जेठ २२ गते आयोगको निर्णय यथास्थानमा राख्न आदेश दिंदै फैसलाका लागि आइतवारको समय तोकेको थियो । भरतपुरमा चुनाव लडिरहेका प्रमुख दल, सर्वसाधारण र सारा देशवासीको ध्यान सर्वोच्चको फैसलाको पर्खाइमा रहेपनि आइतवार फैसला हुने संभावना टरेको देखिन्छ ।