राजपाद्वारा असार १० देखि आम हड्तालको घोषणा

432

काठमाडौं, – राष्ट्रिय जनता पार्टीले दोस्रो चरणको चुनावलार्इ असर पर्ने गरि आम हड्तालसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

आज दिउँसो सरकार र राजपाका नेताहरुबीच भएको वार्ता निश्कर्ष बिहीन भएपछि राजपाले आन्दोलनको घोषणा गरेको हो ।

विजुलीबजारमा बसेको राजपाको बैठकले दोस्रो चरणको ४ दिन अघिबाट आन्दोलनको घोषणा गरेको हो । राजपाले  असार १० गतेदेखि आम हड्ताल गर्ने निर्णय गरेको छ । उसले जेठ २९ गते सदरमुकाम लगायतका स्थानहरूमा मलास जुलुस प्रदर्शन गर्दै अान्दोलनको सुरूवात गर्ने जनाएको छ ।

राजपाले संविधान संशोधन नगरि गरिने चुनावको कुनै अर्थ नहुने भन्दै त्यस्तो निर्वाचनको अाैचित्य नभएकाे बताएको थियो । तर सत्तारुढ दल अहिले संशोधनका लागि तयार छैनन् । किनकी प्रमुख विपक्षी एमाले संशोधनको पूर्ण विरोधमा रहेको छ ।

प्रधानमन्त्री भएपछिको संसदमा पहिलो सम्बोधनमा गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि संविधान संशोधन गर्न सकिने बताएका थिए । त्यसपछि दुर्इ दिन सरकारले राजपालार्इ सहमतिमा ल्याउने प्रयास गरेपनि त्यो सफल हुन सकेन ।

राजपाले असार १४ को निर्वाचन सार्न प्रस्ताव गरेपनि सत्ता गठवन्धनले त्यसलार्इ मानेका छैनन् ।