भक्तपुर । भक्तपुरको ताथलीमा स्वच्छ हावा सम्बन्धि व्यवहार परिवर्तनबारे अभिमुखिकरण गरिएको छ । बढ्दो वायु प्रदूषणले पारेकाे असरलाई न्यूनीकरण गर्नका लागि संघसंस्थाका साथै व्यक्तिकाे भूमिका समेत महत्त्वपूर्ण भएकाले साेही विषयमा जानकारी दिन ताथलीकाे ठूलाे चाैर ( त: ख्याेचा) मा व्यवहार परिवर्तन अभियानसम्बन्धि अभिमुखिकरण आयाेजना गरिएको हाे ।
पालिकामा स्वच्छ हावा प्रवर्द्धनका लागि लागिरहेको चाँगुनारायण नगरपालिकाले वडा कार्यालयसँगकाे समन्वयमा वडा नं. ९ ताथलीस्थित ठूलाे चाैर टाेल विकास संस्थासँगकाे सहकार्यमा आयाेजना गरेकाे हाे । कार्यक्रममा चाँगुनारायण नगरपालिका कार्यपालिका सदस्य कमला गिरिले वडाकाे टाेलस्तरीय कार्यक्रमले स्वच्छ हावा प्रवर्द्धनका लागि सहयोग पुगेको बताइन् । उनले स्वच्छ हावा प्रवर्द्धनका लागि व्यक्तिकै तवरबाट सञ्चालन गर्न जरुरी रहेकाेमा जाेड दिँदै सवारी साधनको प्रदूषण मापनलाई कडाइका साथ लागू गर्नुपर्ने बताइन् ।
उनले नयाँ पुस्तालाई स्वच्छ, स्वस्थ राख्नका लागि प्रदूषण न्यूनीकरण गर्दै लग्नुपर्ने बताइन् । कार्यपालिका सदस्य गिरीले प्रदूषण नियन्त्रणका लागि सरकारी तवरबाटै ठाेस पहल हुनुपर्नेमा जाेड दिँदै सडक पूर्वाधारकाे काम समयमै सम्पन्न नगर्ने प्रवृत्तिले नदेखिँदाे असर पुगिरहेकाेमा चिन्ता व्यक्त गरिन् ।
चाँगुनारायण नगरपालिकाका वास संयाेजक सुरेन्द्र लामिछानेले नगरपालिकाले स्वच्छ हावा परियाेजना विगत २ वर्षदेखि सञ्चालन गरिरहेकाे जानकारी दिँदै वायु गुणस्तर व्यवस्थापन कार्ययाेजना २०७६ अनुसार नगरपालिका लागिरहेको बताए ।
उनले चाँगुनारायण नगरपालिकालाई स्वच्छ हावायुक्त नगरपालिका बनाउने अभियान अन्तरगत वायु गुणस्तर कार्यविधि निर्माण गरेकाे, इँटा उद्याेगलाई प्रविधिमैत्री बनाउने, सुधारिएको चुलाेकाे प्रवर्द्धन गर्ने, खुला स्थानमा फाेहाेर जलाउन प्रतिवेदनलगायतका कार्य र नीतिलाई प्राथमिकता दिइरहेकाे जानकारी दिए ।
उनले सरकार र स्थानीय पालिकाले निर्माण गरेका नीतिलाई कार्यान्वयनका लागि नागरिक तहबाटै सहयोग गर्नुपर्ने भएकाले व्यवहार परिवर्तनबारे टाेलटाेलमै गएर अभियान सुरु गरिरहेकाे बताए ।
स्वच्छ हावा संजाल चाँगुनारायण अध्यक्ष रविता कार्कीले व्यवहार परिवर्तन नै स्वच्छ हावाको लागि उपयुक्त वातावरण रहेको बताइन् । उनले आफ्नो व्यक्तिगत स्वार्थका कारण पूरै समाजलाई नकारात्मक असर पुगिरहेकाे बताउँदै आफ्नै घर र चुलाेबाट व्यवहार परिवर्तनकाे कामकाे थालनी गर्नुपर्नेमा जाेड दिइन् । वातावरण जाेगाउनु सबैकाे सामुहिक दायित्व रहेको उल्लेख गर्दै स्वच्छ हावाका लागि अभियान सञ्चालन गर्न अनुरोध गरिन् ।
एन्फाेकाे स्वच्छ हावा कार्यक्रम संयाेजक सुशीला भण्डारीले वायु प्रदूषणले व्यक्तिगत, वातावरणीय स्वास्थ्यमा पर्ने असरबारे चर्चा गरिन् । उनले अरूलाई मात्र दाेष नदिई आफूले पनि व्यवहार परिवर्तन गर्नुपर्ने बताइन् । त्यस अन्तरगत खुला ठाउँमा फाेहाेर, प्लाष्टिकजन्य वस्तु नबाल्ने, फाेहाेर पानीकाे उचित तरिकाले व्यवस्थापन गर्नुपर्नेमा जाेड दिइन् ।
घरभित्रकाे प्रदूषणले वर्षेनी २२ हजार ५ सयकाे मृत्यु हुने र घरभित्रकाे प्रदूषणले आमा, बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएकाले वायु प्रदूषण नियन्त्रणका लागि व्यक्तिको भूमिका महत्त्वपूर्ण हुने बताइन् ।
वडा वास सहजकर्ता मेहन्दी प्रकाश, ठूलाे चाैर टाेल विकास संस्थाका अध्यक्ष नारायण ताेलङ्गेलगायतले नगरपालिकाकाे उक्त अभियानमा सहजीकरण गर्ने प्रतिवद्दता जनाएका थिए ।