सरस्वती माविको ६४ औं वार्षिकोत्सव सम्पन्न

88

भक्तपुर । श्री सरस्वती माध्यमिक विद्यालयको ६४ औं वार्षिकोत्सब सम्पन्न भएको छ । वि. सं. २०१७ सालमा सुडालको थाकलमाथमा स्थापित उक्त विद्यालयको सो वार्षिकोत्सब शुक्रबार (माघ ४गते) पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न भएको हो ।

वागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले सो वार्षिकोत्सबको उद्घाटन गरेकी थिइन् । विभिन्न व्यक्ति तथा संघसंस्था, विद्यार्थीलाई सम्मान गर्दै उनले विद्यालयलाई समय सुहाउँदो ढंगले अघि बढाइ नयाँ युगसँग प्रतिस्पर्धा गर्न सक्ने पुस्ता तयार गर्नुपर्ने बताइन् ।

कार्यक्रममा वागमती प्रदेश सांसद सुरेश श्रेष्ठले सरस्वती माविमा विद्यार्थी र अभिभावकको आकर्षण रहेको उल्लेख गर्दै विद्यार्थी र अभिभावकको मागको रूपमा रहेको बसको व्यवस्थापनका लागि आफूले पहल गर्ने बताए ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले नगरपालिकाको उत्कृष्ट विद्यालयको रूपमा रहेको विद्यालयको रूपमा रहेको सरस्वती माध्यमिक विद्यालय नगरको शैक्षिक शान भएको बताए । शिक्षा विकास तथा समन्वय इकाई प्रमुख कमला ज्ञवालीले शिक्षालाई सिपसँग जोड्नुपर्ने बताइन् । उनले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि बाल विकास तहबाटै सुधार गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा उनले शिक्षामा रूपान्तरणका लागि शिक्षक, अभिभावकको भूमिका महत्वपूर्ण हुने बताइन् ।

प्रिन्सिपल एसोशिएसन नेपाल (पान)का महासचिव एवम् शीतला माविका प्रधानाध्यापक लक्ष्मण श्रेष्ठले शिक्षा व्यवहारिक हुन जरुरी रहेको बताए । कार्यक्रममा विव्यसका पूर्व अध्यक्ष शिवराम सुवेदीले वि. सं. २०६८ सालमा आफू व्यवस्थापन समितिको अध्यक्ष भइ तीन वर्षे कार्यकालका तीतामीठा अभ्यासहरूको स्मरण गरे । कार्यक्रममा शैक्षिक सत्र २०८० मा कक्षागत रूपमा (कक्षा नर्सरीदेखि कक्षा १२ सम्म) प्रथम, दोस्रो र तेस्रो र स्कुल टप गरेका विद्यार्थीहरूलाई सम्मानसहित पुरस्कृत गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संजीव पुरीले विद्यालयले गुणस्तरीय विद्यार्थी उत्पादनका लागि आधुनिक तरिका र प्रविधि अपनाई पठनपाठन गराउने योजना रहेको जानकारी दिए । कक्षा इसिडीदेखि कक्षा १२ सम्म पठनपाठन भइरहेको जानकारी दिँदै विद्यालयले शैक्षिक कार्यका साथै विभिन्न सामाजिक उत्तरदायित्वका कार्य समेत गरिरहेको उनले बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टिकाराम पाण्डेले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले विद्यालय स्थापनाको पृष्ठभमिदेखि हालसम्मको गतिविधिबारे जानकारी प्रस्तुत गर्दै विद्यालयमा हाल ३२५ विद्यार्थी अध्ययनरत रहेको बताए ।