ब्यासी छोरी बुहारी समूहद्वारा अध्ययन अवलोकन भ्रमण सम्पन्न

25

भक्तपुर— ब्यासी छोरी बुहारी समूहको आयोजनामा २०८१ माघ १७ गते थानकोटस्थित इन्द्रदह, कालू पाण्डे शालिक, र स्विजरल्यान्ड पार्कको अध्ययन अवलोकन भ्रमण सम्पन्न भएको छ।

कार्यक्रममा समूहका सल्लाहकार राजकुमार लघुले बचत संस्कृतिको विकास गर्ने उद्देश्यले समूह स्थापना गरिएको उल्लेख गर्दै देशको भौगोलिक अवस्था र इतिहासबारे जानकारी गराउनुका साथै आन्तरिक पर्यटन प्रवर्द्धन गर्नु सराहनीय कार्य भएको बताए। साथै, समूहको लक्ष्य प्राप्तिको लागि शुभकामना व्यक्त गरे।

त्यस्तै, शिक्षक कुमार लघुले प्रौढ कक्षामार्फत साक्षरता अभियान सफल पार्ने प्रयासहरूको चर्चा गर्दै भक्तपुरमा शिक्षाको जागरण र किसानहरूको उत्थानमा नेमकिपाका नेता तथा कार्यकर्ताको महत्वपूर्ण योगदान रहेको बताए।

कार्यक्रममा समूहकी अध्यक्ष धर्मलक्ष्मी दुवालले समूहको आय-व्यय प्रतिवेदन प्रस्तुत गर्दै सदस्यहरूको माग र समूहको उद्देश्यअनुसार भ्रमण आयोजना गरिएको जानकारी दिइन्। साथै, सफल कार्यक्रमका लागि सहभागी सबैलाई धन्यवाद दिइन्।

यस अवसरमा गंगा ग्वाछा र सुलोचना सुवालले पनि समूहका गतिविधिहरूबारे प्रकाश पार्दै आगामी दिनमा थप प्रभावकारी कार्यक्रम आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा समूहका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।