एसियाली सेयर ओरालो

426

टोकियोः बेलायतमा त्रिशंकु संसद्को निर्माण भएपछि बजार सावधानीको अवस्थातर्फ लम्केकाले सोमबार एसियाली सेयर बजार ओरालो लागेको छ ।
निकी ०.६४ प्रतिशतले ओरालो लागेको छ भने दक्षिण कोरियाको कोस्पीमा ०.७५ प्रतिशतको गिरावट आएको छ ।

चीनको बजार ओरालो लागेर खुलेको छ । हङकङको हाङसेङमा ०.५६ प्रतिशतको गिरावट आएको छ । सांघाई कम्पोजिटमा पनि ०.२८ प्रतिशतको गिरावट आएको छ । सेनझेन कम्पोजिटमा पनि ०.६३५ प्रतिशतले गिरावट आएको छ ।

सार्वजनिक बिदाका कारण अस्ट्रेलिया, मलेसिया र फिलिपिन्सको बजार भने बन्द रह्यो । अमेरिकाका प्रमुख प्रविधि कम्पनीहरूको सेयरमा झन्डै ३ प्रतिशतको गिरावट आएपछि जापान र दक्षिण कोरियाका प्रविधितर्फको सेयर मूल्य दबाबमा परेका छन् । कोरियाली इन्टरनेट कम्पनीहरू नाभर र काकाओमा क्रमशः ५.१ र ४.५५ प्रतिशतको गिरावट आएको छ । जापानको निन्टेन्डोमा ३.१३ प्रतिशतको गिरावट आएको छ ।

गत साता १० दिनकै उच्च कायम भएपछि प्रमुख ६ मुद्राको तुलनामा डलर ओरालो लागेको छ । येनसँगको कारोबारमा १ अमेरिकी डलरबराबर ११०.२२ येन कायम भएको छ ।आगामी बुधबार हुने फेडरल ओपन मार्केट कमिटी (एफओएमसी) को बैठकले डलरलाई सहयोग गर्ने मिजुहो बैंकका वरिष्ठ अर्थशास्त्री विष्णु भाराथानले बताए ।

ऊर्जाको क्षेत्रमा तेलको मूल्यमा गत साताको झिनो गिरावटपछि वृद्धि भएको छ । गत साता तेलको मूल्यमा ४ प्रतिशतको हाराहारीमा गिरावट आएको थियो । ब्रेन्ट कच्चा तेलको मूल्यमा ०.४६ प्रतिशतको वृद्धि भएर प्रतिब्यारेल ४८.३७ डलरमा कारोबार भएको छ । अमेरिकी कच्चा तेलको मूल्यमा पनि ०.४८ प्रतिशतले वृद्धि भई प्रतिब्यारेल ४६.०५ डलर कायम भएको छ ।

जापानको कोर मेसिनरी अर्डर अप्रिलमा अस्थिर रह्यो । यो उक्त महिना ३.१ प्रतिशतले ओरालो लागेको थियो । भारतले अप्रिलको औद्योगिक उत्पानको तथ्यांक र मे महिनाको सीपीआई सोमबार साँझ सार्वजनिक भएको छ । यसैगरी अमेरिकी धितोपत्र नास्दाकमा १.८ प्रतिशत अर्थात् ११३.८५ अंकले गिरावट आएको छ ।