काठमाडौं । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले अवैध नेटवर्क व्यवसाय (क्यूनेट) सञ्चालन गरेको आरोपमा १ सय २ जनालाई पक्राउ गरेको छ । ब्यूरोबाट खटिएको टोलीले पुरानो बानेश्वरको सिद्धार्थ फुडल्याण्डमा नेटवर्क सञ्चालनसम्बन्धी शिक्षा लिइरहेको अवस्थामा आइतवार राति १ सय २ जनालाई पक्राउ गरेको हो जसमा २९ महिला छन् ।
ब्यूरोले सोमवार पत्रकार सम्मेलन गरी प्रारम्भिक छानबिनका क्रममा १ सय २ मध्ये १४ जना क्यूनेट नेटवर्किङ कार्यमा सक्रिय रहेकाले उनीहरुमाथि मुद्दा चलाइएको जानकारी दिएको छ । तिनमा प्रकृति बुढाथोकी, श्वेता बस्नेत, सिर्जना सिंह, अङ्किता श्रेष्ठ, विकल्प श्रेष्ठ, क्षितिज पौडेल, नरेश मल्ल, ओम गुरुङ, बिसन गुरुङ, किरण जोशी, सुमित मानन्धर, सौरभ गोयन्का, सुमित श्रेष्ठ र प्रमेश मानन्धर छन् । ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक शेरबहादुर बस्नेतले विद्युतीय सञ्चारमाध्यमको प्रयोग गरी उनीहरुले डेढ वर्षदेखि नेपालमा नेटवर्किङ व्यवसाय सञ्चालन गर्दै आइरहेको अनुसन्धानमा खुल्न आएको जानकारी दिए । उनले भने, ‘विभिन्न आकर्षक योजना र प्रलोभन देखाई प्रतिव्यक्ति रू. तीनदेखि पाँच लाखसम्म उठाई कमिशन खाएको पाइयो ।’
नेटवर्किङको सदस्य बनेमा विश्वका एक हजारभन्दा बढी ठाउँबाट सस्तो मूल्यमा सामग्री पाइने तथा विभिन्न देशको भ्रमण गर्न पाइने आकर्षक योजना देखाएर ठगी गर्दै आइरहेको ब्यूरोले बताएको छ । पक्राउ परेकामध्ये अधिकाशं चिकित्सक, ईञ्जिनियर र व्यवसायी छन् । यस्तै, मलेसिया र हङकङबाट उक्त नेटवर्किङ व्यवसाय सञ्चालन भइरहेको र नेपालीहरु पनि दिनानुदिन यसको सदस्य भइरहेको ब्यूरोले अनुसन्धानमा फेला पारेको छ । छिमेकी मुलुकमा यस्तो किसिमको नेटवर्किङ व्यवसायबाट पाँच लाख मानिस पीडित बनेको बताउँदै ब्युरोले यस्तो व्यवसायमा कोही पीडित भए तत्काल उजुरी गर्न आग्रह गरेको छ । नेपाल, भारत, श्रीलङ्का, इरान, अमेरिका, सुडान, साउदी अरबलगायत देशले नेटवर्किङ व्यवसायलाई प्रतिबन्ध लगाएका छन् ।