भक्तपुरमा खाद्यान्न र ग्यास पसलमा प्रशासनको अनुगमन, नियम उल्लंघन गर्ने व्यवसायीलाई जरिवाना

34

भक्तपुर – जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा सूर्यविनायक नगरपालिकास्थित खाद्यान्न र ग्यास पसलहरूमा अनुगमन गरिएको छ। अनुगमनका क्रममा व्यवसायीहरूले पालना गर्नुपर्ने नियमहरूको स्थिति जाँच गरिँदा अवैध रूपमा सञ्चालन भइरहेका पसलहरू, म्याद गुज्रेका सामानहरू, मूल्य सूचीको उल्लंघन, र अनुज्ञापत्र बिना प्याकिङ्ग गरिएका वस्तुहरू भेटिएका छन्।


खाद्यान्न पसलमा अनियमितता, निर्देशन र कारबाही

बालकोटस्थित सिता खाद्य स्टोर नगरपालिकामा दर्ता नभएकाले ७ दिनभित्र दर्ता गर्न निर्देशन दिइएको छ। साथै, मूल्य सूचीमा उल्लेख गरिएअनुसार मात्र ग्राहकसँग शुल्क लिनुपर्ने निर्देशन दिइएको छ।

विनायक स्टोर मा म्याद गुज्रेका सामानहरू छुट्टै स्थानमा राख्ने व्यवस्था गर्न भनिएको छ। माँ राजदेवी मसला सप्लायर्समा मूल्य सूची स्पष्ट रूपमा देखिने गरी राख्न, ढक तराजु नविकरण गर्न, तथा ७ दिनभित्र व्यवसाय दर्ता गरी मात्र प्याकिङ्ग गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

गठ्ठाघरस्थित जी.के.एस. इन्टरप्राइजेजमा म्याद गुज्रेका २० वटा सोया सस र ५ पाकेट सुर्ती जफत गरी नष्ट गरिएको छ। साथै, म्याद सकिएका सामानहरू छुट्टै स्थानमा राख्न निर्देशन दिइएको छ।


ग्यास पसलमा अनुगमन, जरिवाना र सुधारका निर्देशन

ए. एण्ड ए. ट्रेडर्स, सूर्यविनायक – ग्यास बिक्री गर्दा तौल गरी मात्र विक्री गर्न, गोदाम व्यवस्थित गर्न, तथा १५० वटा ग्यास सिलिन्डर स्टक नमिलेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को विभिन्न दफा उल्लंघन गरेको भन्दै रु. १०,००० जरिवाना गरिएको छ।

दीप किराना स्टोर, सूर्यविनायक – १९९ वटा ग्यासको खरिद बिल नभेटिएपछि उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार रु. १०,००० जरिवाना गरिएको छ।

अनुगमन टोलीको सहभागिता

जिल्ला प्रशासन कार्यालय, भक्तपुरका प्रशासकीय अधिकृत शिव काकी को नेतृत्वमा भएको अनुगमनमा सहभागी अन्य अधिकारीहरू निम्नानुसार रहेका थिए –

रामप्रसाद कुस्मा – प्रमुख, उद्योग तथा वाणिज्य कार्यालय, भक्तपुर
यादव मिश्र – नासु, जिल्ला प्रशासन कार्यालय
देवानन्द तिमिल्सिना – प्रतिनिधि, आन्तरिक राजस्व कार्यालय
लोकनाथ खतिवडा – अधिकृत, सूर्यविनायक नगरपालिका
विश्वराम दुवाल – भक्तपुर उद्योग वाणिज्य संघ
मनोज थापा – उपभोक्ता मञ्च, भक्तपुर
लक्ष्मी प्रसाद कासुला – उद्योग तथा वाणिज्य कार्यालय, भक्तपुर
महानगरीय प्रहरी परिसरका सुरक्षाकर्मी

अनुगमन निरन्तर गरिने, उपभोक्तालाई सतर्क रहन आग्रह

जिल्ला प्रशासन कार्यालय भक्तपुरले खाद्यान्न तथा ग्यास पसलहरूमा नियमित अनुगमनलाई निरन्तरता दिने जनाएको छ। साथै, उपभोक्ताहरूलाई म्याद गुज्रेका तथा अनधिकृत रूपमा विक्री गरिएका सामानहरूबारे सचेत रहन र कुनै पनि अनियमितता देखिएमा सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरिएको छ।