भक्तपुर । ११५औं अन्तर्राष्ट्रिय श्रमिक नारी दिवसको अवसरमा तौडोलछाप बचत तथा ऋण सहकारी संस्था र तौडोलछाप सामुदायिक वन उपभोक्ता समितिको संयुक्त आयोजनामा सहकारीको महिला उपसमिति संयोजकत्वमा नारी बचत खाताका उत्कृष्ट बचतकर्ताहरूलाई सम्मान तथा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भयो।
गणेश माध्यमिक विद्यालय, सिपाडोल मा सम्पन्न उक्त कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य रामेश्वर बोहरा प्रमुख अतिथिका रूपमा रहनुभएको थियो। महिला उपसमितिका संयोजक तारा खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा सूर्यविनायक नगरपालिका सहकारी बिभागको प्रतिनिधि कल्पना श्रेष्ठ, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघकी प्रतिनिधि सुसिला बराल, सूर्यविनायक नगरपालिकाका कार्यपालिका सदस्य सावित्रा मिश्र, वडा नम्बर ८ की महिला सदस्य अन्जना नेपाली, तौडोलछाप सहकारीका अध्यक्ष दिपेन्द्र कुमार थापा, तौडोलछाप सामुदायिक वन उपभोक्ता समुहका उपाध्यक्ष राकेश थापा लगायत विभिन्न सहकारी तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।
कार्यक्रमका संचालक शुभलक्ष्मी श्रेष्ठ रहनुभएको थियो भने स्वागत मन्तव्य पवित्रा बस्नेत भट्टराई ले दिनुभएको थियो। कार्यक्रममा ८४ जना उत्कृष्ट महिला बचतकर्ताहरूलाई सम्मान गरिएको थियो।
सिपाडोलमा अबस्थित तौडोलछाप सामुदायिक वन उपभोक्ता समुहका वन कर्मीहरुको अग्रसरतामा दर्ता भई संचालनमा आएको तौडोलछाप सहकारीले भक्तपुरमा छुट्टै पहिचान बनाउन सफल भएको छ ।
तौडोलछाप बचत तथा ऋण सहकारी संस्था ले विगत लामो समयदेखि नारी दिवसका अवसरमा नारी बचत कर्ता सम्मान कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि महिलाहरूको आर्थिक र सामाजिक सशक्तीकरणका लागि थप कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।