भक्तपुर । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा र मध्यपुर थिमी नगरपालिका वातावरण सरसफाई तथा विपद् व्यवस्थापन शाखाको संयुक्त आयोजनामा विद्यालय स्तरीय जोखिम न्यूनीकरण तथा सडक सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम आज मध्यपुर थिमी नगरपालिका वडा नं. ८, बोडेमा अवस्थित बोडे माध्यमिक विद्यालयमा सञ्चालन गरिएको थियो।
कार्यक्रममा मध्यपुर थिमी न.पा वडा नम्वर ८ का वडा सदस्य अतिथिका रूपमा रहनुभएको थियो।
कार्यक्रमाा वातावरण सरसफाई तथा विपद व्यवस्थापन शाखाका प्रमुख गणेशदेवी प्रजापति तथा शाखाका कर्मचारी सुदन प्रसाद आचार्य को पनि विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण ऋषि खड्का र ईश्वर श्रेष्ठले गर्नुभएको थियो।
उक्त अभिमुखीकरण कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायका सदस्यहरूको सहभागिता रहेको रेडक्रस भक्तपुरका मन्त्री धर्मराज कार्कीले जानकारी दिनुभयो । कार्यक्रमले विद्यार्थीहरूमा सडक सुरक्षाका उपाय, विपद् व्यवस्थापन, तथा जोखिम न्यूनीकरण सम्बन्धी जानकारी गराउने उद्देश्य लिएको कार्कीले बताउनुभयो।
कार्यक्रम सडक दुर्घटनाबाट बच्न अपनाउनुपर्ने सावधानीहरू, भूकम्प, आगलागी जस्ता प्राकृतिक विपदहरूमा सुरक्षित रहने उपायहरू, तथा विद्यालय र समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने विषयमा सहभागिहरूलाई अभिमुखीकरण गरिएको थियो।
यस प्रकारका कार्यक्रमहरूले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान प्रदान गर्नुका साथै विपद् व्यवस्थापन र सडक सुरक्षाको विषयमा सचेतना अभिवृद्धि गर्ने विश्वास आयोजक संस्थाहरूले व्यक्त गरेका छन्।