भक्तपुर । भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले सोमबार नेपाल रेडक्रस सोसाइटी, भक्तपुर जिल्ला शाखा अन्तर्गत सञ्चालनमा रहेको रक्त सञ्चार सेवाको अवलोकन गर्नुका साथै विभिन्न गतिविधिहरूको जानकारी लिनुभएको छ।
अवलोकनका क्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले रक्त सञ्चार सेवाको प्रभावकारिता, रक्त सङ्कलन तथा वितरण प्रक्रिया, आपत्कालीन रक्त व्यवस्थापन, आधुनिक उपकरणहरूको प्रयोग र रक्त अभाव न्यूनिकरणका लागि अपनाइएका रणनीतिहरू सम्बन्धमा जानकारी लिनुभयो।
नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका पदाधिकारीहरूले रक्त सञ्चार सेवाका वर्तमान गतिविधिहरू, रक्तदान कार्यक्रमहरूको प्रभाव, भविष्यका योजनाहरू तथा सेवाको थप स्तरोन्नतिको आवश्यकताबारे प्रमुख जिल्ला अधिकारीलाई अवगत गराएका थिए।
यस अवसरमा प्रमुख जिल्ला अधिकारी अर्यालले रक्त सञ्चार सेवा समाजका लागि अति आवश्यक रहेको उल्लेख गर्दै, यसलाई थप प्रभावकारी बनाउन प्रशासनका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अवलोकन भ्रमणमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका पदाधिकारीहरू, रक्त सञ्चार सेवा केन्द्रका प्रतिनिधिहरू, प्रशासनिक अधिकारीहरू तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।