भक्तपुर। नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा र मध्यपुर थिमी नगरपालिका वातावरण सरसफाई तथा विपद् व्यवस्थापन शाखाको संयुक्त आयोजनामा सोमबार मध्यपुर थिमी नगरपालिका–७ स्थित गणेश माध्यमिक विद्यालयमा विद्यालय स्तरीय जोखिम न्यूनीकरण तथा सडक सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा मध्यपुर थिमी नगरपालिका वडा नम्बर ७ का वडा सदस्य भकतराज खत्री प्रमुख अतिथि रहनुभएको थियो। साथै, वातावरण सरसफाई तथा विपद व्यवस्थापन शाखाका प्रमुख गणेशदेवी प्रजापति, शाखाका कर्मचारी सुदन प्रसाद आचार्य, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरू तथा विद्यालयका शिक्षक(शिक्षिकाहरूको उपस्थित रहेको थियो।
कार्यक्रममा ऋषि खड्का र उषा कार्कीले सहजीकरण गर्दै विद्यालयस्तरमा देखिने जोखिमहरू, विपद् न्यूनीकरणका उपायहरू, सडक सुरक्षाका नियमहरू र विद्यार्थीहरूले पालना गर्नुपर्ने सावधानीहरूबारे प्रशिक्षण प्रदान गर्नुभएको रेडक्रस भक्तपुरका मन्त्री धर्मराज काकीले जानकारी दिनुभयो ।।
उहाँका अनुसार विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकहरूलाई सचेत बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमले विद्यार्थीहरूमा विपद् व्यवस्थापन र सडक सुरक्षाबारे सकारात्मक प्रभाव पार्ने छ।