भक्तपुर । स्वयंसेवी रक्तदाता तथा रक्तदान कार्यक्रम आयोजना गर्ने संघसंस्थाहरुलाई भक्तपुर रेडक्रसद्धारा सम्मान तथा प्रशंसा वितरण गरी विश्व रक्तदाता दिवस मनाइयो । भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा वार्षिक रुपमा ३ पटक भन्दा बढि रक्तदान कार्यक्रमको आयोजना गर्ने, एकै दिनमा फरक फरक स्थानमा रक्तदान कार्यक्रमको आयोजनागर्ने, वार्षिक रुपमा रक्तदान कार्यक्रमको आयोजना गरी १०० भन्दा बढि युनिट रक्त संकलन गर्ने संघसंस्थाहरु र भक्तपुर रक्तसंचारमा आएर बार्षिक रुपमा ३ देखि ४ पटक रक्तदान गर्ने ब्यक्तिहरुलाई सम्मान तथा प्रशंसापत्र वितरणका साथै रक्तसंचार बुलेटिनको बिमोचन गरिएको थियो ।
स्वयंसेवी रक्तदाता तथा रक्तदान कार्यक्रमको आयोजना गर्ने संघसंस्थाहरुलाई सम्मान तथा प्रशंसा पत्र वितरण गर्दै प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले मानवीय सेवा र समाजसेवामा आवद्धहुनेहरुको बाहुल्यता भएको भक्तपुर जिल्लाको प्रमुख जिल्लाा अधिकारी हुन पाएकोमा आफुले गौरवान्वित महशुस गरेको बताउनुभयो । शारीरीक तन्दरुस्ताका साथै सकारात्मक सोच, समाजको भलो चाहने र समाजको लागि केही योगदान दिन तत्पर मानिसहरुले मात्र रक्तदान कार्य गर्न सक्ने भएकोले स्वयंसेवी रक्तदाताहरुको संख्या उल्लेख्य रुपमा वृद्धि हुनु सकारात्मक भएको बताउनुभयो ।
सम्मान तथा प्रशंसा वितरण कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुदै जिल्ला शाखाका सभापति मनोजकुमार थापाले २०४५ सालबाट शुरु गरीएको रक्तसंचार सेवा भक्तपुरले २०६० सालबाट आफ्नै भवनबाट सेवा संचालन गरीरहेको बताउनु भयो । उहाँले यस वर्ष २२२३० युनिट रगत संकलन गरी ३८४३३ युनिट रगत तथा रक्ततत्व वितरण गर्न सफल भएकोले रगत नपाए भक्तपुर जानु भन्ने नारालाई ब्यवहारिक रुपमै सफल पार्न सकेको बताउनु भयो । यसको श्रेय स्वयंसेवी रक्तदाता र रक्तदान कार्यक्रमको आयोजनागर्ने संघसंस्था, रेडक्रसका जिल्ला शाखा तथा उपशाखाका स्वयंसेवकहरु लगायत कर्मचारीहरुलाई जाने कुरा उल्लेख गर्नुभयो । नेपालमा रगतको ब्यवस्थापन गर्न नेपाल सरकारले नेपाल रेडक्रस सोसाइटीलाई दिएको जिम्मेवारीलाई नेपाल रेडक्रस सोसाइटीले सहर्ष स्विकार्दै रक्तदाता र विरामी वीच पुलको काम गर्दै माग बमोजिम आपुर्ति ब्यवस्थापन गर्न केन्द्रीय रक्तसंचार सेवा, क्षेत्रिय रक्तसंचार सेवा र जिल्लाहरुमा रक्तसंचार केन्द्र स्थापना गरी रगत तथा रक्ततत्वको ब्यवस्थापन गरिरहेको बताउनुभयो ।
कार्यक्रममा विशेष अतिथी स्थानीय विकास अधिकारी ध्रुब प्रसाद कोइरालाले रेडक्रसले गर्ने मानवीय सेवाका गतिविधिहरुमा रक्त संचार सेवा एउटा महान कार्य भएको बताउनु भयो । उहाँले भक्तपुर रक्तसंचार सेवाले यस वर्ष गरेको रक्त संकलन तथा रगत तथा रक्ततत्व वितरणको तथ्यांकले भक्तपुरमा रेडक्रस प्रतिको आस्था र विश्वास बढेर गएको बताउनुभयो ।
पत्रकार महासंघ भक्तपुरका सभापति पुष्कर बुढाथोकीले रक्तदान जीवनदान भन्ने नाराका साथ मानवीय सेवा कार्य अन्तर्गत रेडक्रसले संचालन गरेको रक्तसंचार सेवा भक्तपुरले रगत तथा रक्ततत्व माग बमोजिम आपूर्ति गरेकोमा धन्यवाद दिदै पत्रकार महासंघको तर्फबाट रक्तदान सम्वन्धि जनचेतना फैलाउने कुरामा सदैव सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा उपस्थित हुनुभएका महनुभावहरुलाई स्वागत गर्दै जिल्ला शाखाका मन्त्री परशुराम पाण्डेले भक्तपुर रक्तसंचार सेवाले आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरेर भएपनि माग बमोजिम रगत तथा रक्ततत्व पूर्ति गरिरहेको बताउनु भयो । रक्तसंचार ब्यवस्थापन समितिका सभापति एवं भक्तपुर रेडक्रसका कार्य समिति सदस्य सुर्य बहादुर खाइतुको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन जन सम्पर्क अधिकृत लक्ष्मी के.सीले संचालन गर्नु भएको थियो ।