बालप्रेमी र आदर्श माविमा विपद् जोखिम न्यूनीकरण तथा सडक सुरक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न

16

भक्तपुर । मध्यपुर थिमी नगरपालिका वातावरण सरसफाई तथा विपद् व्यवस्थापन शाखाको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको प्राविधिक सहयोगमा वडा नम्बर ४ का विद्यालय बालप्रेमी मावि र आदर्श माविमा विद्यालय लक्षित विपद् जोखिम न्यूनीकरण तथा सडक सुरक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

२०८१ फागुन २७ र २८ गते गरी दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा वडा नम्बर ४ का वडा सदस्य रामकेशरी श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा विद्यालयका प्राध्यापक, शिक्षक, नगरपालिकाका वातावरण सरसफाई तथा विपद् व्यवस्थापन शाखाका प्रमुख गणेशदेवी प्रजापति, शाखाका कर्मचारी सुदन प्रसाद आचार्य लगायतको उपस्थिति रहेको रेडक्रसका मन्त्री धर्मराज कार्कीले जानकारी दिनुभएको छ ।

अभिमुखीकरण कार्यक्रममा ऋषि खड्का, संगीता थापा र दिवाकर पौडेल ले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा विद्यार्थीहरूलाई विपद् जोखिम न्यूनीकरणका उपायहरू, सडक सुरक्षाका मापदण्डहरू, आकस्मिक परिस्थितिमा अपनाउनु पर्ने सावधानीहरू विषयमा जानकारी दिइएको थियो।

कार्यक्रमपछि होलिको पावन अवसरमा शुभकामना आदान–प्रदान गर्दै होली मनाइएको थियो। आयोजकका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई सुरक्षा सचेतना बढाउन तथा विपद् व्यवस्थापनमा सक्रिय भूमिका खेल्न प्रेरित गर्ने विश्वास लिएको छ।