को हुन् आर के मेहता ?
विराटनगरको भट्टाचोकमा जन्मिएका आर के मेहता ती कलाकार हुन्, जसले अभिनयलाई केवल पेशा होइन, आफ्नो जीवनको अटुट अंश बनाए । बाल्यकालदेखि नै कराँते, नृत्य, र अभिनयमा रुचि राख्ने उनले कराँतेमा ब्ल्याक बेल्ट हासिल गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई पदक दिलाए । अभिनयप्रतिको गहिरो मोहले उनी रंगमञ्चतर्फ आकर्षित भए, जहाँ उनले विराट मैथिल नाट्य कला परिषद, विराटनगर गुरुकुल हुँदै शिल्पी थिएटरमा प्रशिक्षण लिएका थिए । शिल्पी थिएटरमा उनी दुई वर्ष होस्टल बसेर काम गरे ।
थिएटरमा संघर्ष र पहिचानको खोजी
आर के मेहताले माइम र पेन्टोमाइममा विशेष दक्षता हासिल गर्दै रंगमञ्चमा छुट्टै पहिचान बनाए । उनी केवल एक कलाकार मात्र होइन, निर्देशकका रूपमा पनि उत्कृष्ट सावित भए । उनले ‘महाकन्जुस’, ‘अब कोना चलव’, ‘हारजीत’, ‘कोमा’, ‘मजीपालाखे’, ‘वीच’, ‘जीउँदो आकाश’, ‘वौदिछाया’ लगायतका धेरै नाटकहरुमा अभिनय तथा निर्देशन गरिसकेका छन् । थिएटरमा उनले लाइटिङ सेटअप, सेट डिजाइन, र अभिनयको गहिराइमा डुबेर काम गरे । बिस्तारै उनको प्रस्तुति नेपाल बाहिर पनि पुग्न थाल्यो । एन एस डी ओलम्पिक थिएटर फेस्टिभलमा नाटक ‘जीउँदो आकाश’ लिएर अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई प्रतिनिधित्व गर्दै उनले ठूलो पहिचान बनाए ।
सिनेमामा पदार्पण : रंगमञ्चबाट रजतपटसम्मको यात्रा
आर के मेहताले नेपाली फिल्म ‘रंगेली’ बाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए । तर दुर्भाग्यवश, फिल्म बिचैमा बन्द भयो । तर उनले आफ्नो सपना नछोडी अझै संघर्ष गर्दै गए। अभिनयमा गहिराइ ल्याउन उनले इटालीको ‘एकाडेमिया डेल आर्टे’ मा भौतिक थिएटर अध्ययन गरे र इटालीमा विभिन्न प्रदर्शनहरू गरे । नेपाल फर्किएपछि उनले आफ्नो नाटक ‘जीउँदो आकाश’ पुनः मञ्चन गरे ।
‘आँखा’ फिल्मका लागि अपूर्व समर्पण
नेपाल फर्किएपछि, उनलाई निर्देशक जौन योंजनको फिल्म ‘आँखा’ मा मुख्य भूमिका निभाउने अवसर प्राप्त भयो । यो भूमिका उनको लागि निकै विशेष रह्यो । जब उनले फिल्मको स्क्रिप्ट हातमा लिए, त्यसपछि उनी पूर्ण रूपमा चरित्रमा समर्पित भए । उनले चरित्रका लागि निकै मेहनत गर्न थाले । उनले ६ महिनासम्म काठमाडौंको सुकुम्बासी बस्तीमा गएर बस्दै, त्यहाँका वास्तविकता बुझे । निर्देशक र सह–कलाकारहरूसँग मिलेर छ महिने वर्कशप गरे । उनले १५ किलो तौल घटाए, जसका लागि उनले विभिन्न कडा डाइट र जीवनशैली अपनाएका थिए ।
थिएटर र फिल्ममा पर्दा पछाडिको मेहनत
आर के मेहता केवल क्यामेराको अगाडि मात्र होइन, पर्दा पछाडिको मेहनतमा पनि उत्तिकै सक्रिय छन् । फिल्ममा लाइटको सामान किन्नेदेखि सेटअप निर्माणसम्म, उनी आफैं खटिन्थे । कलाकारहरूको तयारीमा पनि सहयोग गरे, संवादको गहिराइ बुझ्न सामाजिक अध्ययन गरे । रोज–रोज फिल्मको स्क्रिप्टमा डुबेर अध्ययन गरे, आफ्ना संवाद, एक्सप्रेसन र शारीरिक चाल–ढाललाई परिमार्जन गरे । उनी रातभर नसुती आफ्ना दृश्यहरूमाथि पटक–पटक अभ्यास गर्थे ।
अन्तर्राष्ट्रिय अवार्डः निफको ‘उत्कृष्ट पुरुष अभिनेता’ विजेता
उनको कठोर मेहनतले रंग ल्यायो । ‘आँखा’ फिल्ममा उनको दमदार अभिनयले उनलाई नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव २०२५ मा उत्कृष्ट पुरुष अभिनेता को अवार्ड दिलायो । यो अवार्डले उनको संघर्षको पहिचान मात्र दिएन, नेपाली सिने उद्योगका लागि पनि एक नयाँ उचाइ थप्यो ।
भविष्यका कलाकारका लागि प्रेरणा
आर के मेहताको यात्रा संघर्ष, समर्पण र निरन्तर मेहनत को उदाहरण हो । रंगमञ्चदेखि अन्तर्राष्ट्रिय स्तरसम्म आफ्नो पहिचान बनाउन उनले धेरै चुनौतीहरू सामना गरे, तर कहिल्यै हार मानेनन् । अब, ‘आँखा’ फिल्मको माध्यमबाट उनले नेपाली सिनेमा उद्योगमा नयाँ ऊर्जा थप्नेछन् । उनको संघर्ष र सफलता नेपाली कलाकारहरूको लागि प्रेरणादायी छ ।