सुनीता तुलाधर शिल्पकार, ललितपुर । ललितपुरको दक्षिण भेगमा रहेको प्राचीन माझ खण्ड बुद्ध विहार ‘सतकुलपुत्र् दुर्लभ श्रावणेर प्रव्रज्या’ कार्यक्रम शुक्रवारबाट सुरु भएको छ ।
अखिल नेपाल भिक्षु महासङ्घका महासचिव भिक्षु धर्म गुप्त महा स्थविरको उपाध्यायत्वमा १० दिवसीय उक्त कार्यक्रम माझ खण्ड बुद्ध विहार, माझ खण्ड, ललितपुरमा शुभारम्भ भएको हो ।
अखिल नेपाल भिक्षु महासङ्घको संरक्षणमा विश्व शान्ति विहार, माझ खण्ड बुद्ध विहार र धम्मकायको संयुक्त आयोजना तथा शाक्यसिंह विहारको सह आयोजना एवं प्रव्रज्या सामाजिक नेपालको व्यवस्थापनमा अन्तर्राष्ट्रिय बौद्ध दिवसको उपलक्ष्यमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
सो प्रव्रज्या कार्यक्रममा अ.ने.भि. महासङ्घका सचिव भिक्षु निग्रोध महा स्थविरले ‘सब्ब दुक्ख निस्सरण निब्बानस्स सच्छिकरणत्थाय इमं कासावं गहेत्वा’ भनी धम्मदायादहरुलाई वाक्य वाचन गराउनु भइसकेपछि उहाँहरूले सो चीवर उपाध्याय भन्ते लगायत गुरु भन्तेहरूलाई प्रदान गरेका थिए । त्यसपछि गुरु भन्तेहरूले चीवर धम्मदायादहरुलाई नै प्रदान गर्नुभएको थियो ।
उहाँहरूले चीवर पहिरिसकेपछि भिक्षु निग्रोध महा स्थविरले श्रावणेर प्रव्रज्याको याचना पाठ गराउनुभएको थियो भने उपाध्याय भिक्षु धर्म गुप्त महा स्थविरले धम्मदायादहरुलाई दश शील प्रदान गर्नुभएपछि उहाँहरूले श्रावणेर प्रव्रज्या प्राप्त गर्नुभएको थियो ।
उपाध्याय भन्ते भिक्षु धर्म गुप्त महा स्थविरले गाउँ गाउँमा कुलपुत्रहरुलाई भिक्षु, श्रावणेरमा प्रव्रजित गराएर प्रचारप्रसार गर्न सकेमा बहु जनले पनि लाभ लिन सक्ने र छिटै नै बुद्ध धर्मको विकास हुने बताउनुभयो । “प्रव्रज्या भनेको दुर्लभ र गाह्रो छ, त्यस्तो मौका पाउन पनि धेरै धेरै नै अवस्थाहरू मिल्नु पर्दछ,” उहाँले भन्नुभयो, “यस प्रकारको कार्यक्रम माझ खण्ड जस्तो विकट क्षेत्रमा गर्न अथक प्रयास गरिरहनु भएका भिक्षु बोधि ज्ञान महा स्थविरको अटुट कार्यको प्रशंसा गर्दछु ।”
महासङ्घका सचिव भिक्षु निग्रोध महा स्थविरले जीवनमा एक चोटि प्रव्रजित हुनु भनेको ठुलो सौभाग्य भएको बताउनुभयो । उहाँले भगवान् बुद्धको जन्मभूमि यस पुण्य भूमि नेपालको ललितपुरको दक्षिण भेगमा रहेको माझ खण्ड बुद्ध विहारमा प्रव्रजित हुन घरबार त्यागेर आउनु पनि अति महत्त्वपूर्ण रहेको बताउनुभयो ।
उक्त कार्यक्रममा माझ खण्ड बुद्ध विहारका प्रमुख भिक्षु बोधि ज्ञान महा स्थविरले यस कार्यक्रमको आयोजना गर्न पाउँदा खुसी लागेको बताउनुहुँदै कार्यक्रम सफल बनाउनका लागि सहयोग गर्नुहुने अखिल नेपाल भिक्षु महासङ्घ, थाई भिक्षु सङ्घ, माझखण्डवासीहरु लगायत दाताहरू र उपासकउपासिकाहरु एवं प्रचारप्रसारमा लागिरहनु भएका मिडियाकर्मीहरू सम्पूर्णलाई साधुवाद दिनुभयो ।
समारोहको सुरुवात आज बिहान उपाध्याय भन्ते धर्म गुप्त महा स्थविरले धम्मदायाद (प्रव्रजित हुने व्यक्ति)हरूलाई ‘तचपञ्चक’ भावना गराई केश छेदन गराउनु भएपछि उपस्थित नेपाली तथा थाई भन्तेहरूले धम्मदायादहरुको कपाल खौरिदिनु भएको थियो । कपाल खौरिसकेपछि सेतो वस्त्र लगाई उनीहरूले माझ खण्डको स्थानीय क्षेत्रमा परिक्रमा गरी विहारमा पुगेका थिए ।
नव श्रामणेरहरुले यही चैत २२ गते देखि २०८२ वैशाख २ गतेसम्म पूर्णरुपमा भगवान् बुद्धले बताउनुभएको नियममा बस्नु भई ध्यान भावना गरेर अकुशललाई त्याग गरी कुशल चित्त वृद्धि गर्नेछन् ।