दाङ – नेपाल रेडक्रस सोसाइटी दाङका पूर्व सभापति नारायण आचार्यको गोली लागेर मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुर निवासी ८३ वर्षीय आचार्य सोमबार दिउँसो आफ्नै घरमा मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
प्रहरीका अनुसार, आचार्यको छातीमा १२ बोरको दुई नाले बन्दुकको गोली लागेको अवस्थामा शव भेटिएको हो। मृतक आफ्नै सुत्ने कोठामा मृतावस्थामा फेला परेका हुन्। प्रारम्भिक अनुसन्धानको आधारमा घटनालाई आत्महत्या हुन सक्ने आशंका गरिएको भए पनि, घटनाको विस्तृत अनुसन्धान भइरहेको डिएसपी अनिल सिंह ठकुरीले जानकारी दिनुभयो।
परिवारका सदस्यले आचार्यलाई गोली लागेको अवस्थामा फेला पारेपछि सोमबार अपरान्ह ४ बजे प्रहरीलाई खबर गरेका थिए। घटनास्थलबाट बरामद गरिएको बन्दुक वैध हो वा अवैध भन्नेबारे पनि अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।
पूर्व सभापति आचार्य दाङमा सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा सक्रिय व्यक्तित्वको रूपमा चिनिनुहुन्थ्यो। घटनाले स्थानीय समुदायमा स्तब्धता ल्याएको छ।