चाँगुनारायणमा विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन अनुकुलन सम्बन्धी तालिम सम्पन्न

13

खरिपाटी, भक्तपुर – चाँगुनारायण नगरपालिकाको समन्वयमा आइसेट नेपाल र डिसिए नेपालको प्राविधिक सहयोगमा “विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन अनुकुलनलाई स्थानीय तहमा मूलप्रवाहिकरण सम्बन्धी क्षमता अभिवृद्धि तालिम” आज नगरपालिकाको तालिम हल, खरिपाटीमा सम्पन्न भएको छ।

तालिम चाँगुनारायण नगरपालिका बन, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक तथा वडा नं २ का अध्यक्ष सोम प्रसाद प्रधानको सभापतित्वमा सम्पन्न भयो। कार्यक्रममा नगर कार्यपालिका सदस्य पूजा वर्देवा, वडा नं ९ का सदस्य रविन बासुकला, वडा नं ५ का प्रभुराम थापा, वडा नं १ की सदस्य मुना गुरुङ, विपद् व्यवस्थापन इकाई प्रमुख दिनेश थापा, ९ वटै वडाका वडास्तरीय विपद् व्यवस्थापन समितिका सचिव तथा वडा सचिवहरू, विभिन्न शाखाका कर्मचारीसहित करिब ३५ जनाको सहभागिता थियो।

तालिमको उद्देश्य स्थानीय तहमा विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन अनुकूलनलाई नीतिगत, संस्थागत तथा प्राविधिक रूपमा समावेश गरी प्रभावकारी कार्यान्वयन गर्न सक्ने क्षमता अभिवृद्धि गर्नु रहेको थियो। कार्यक्रममा सहभागीहरूलाई जोखिम पहिचान, मूल्याङ्कन, नक्सांकन तथा अनुकूलन योजना निर्माणका व्यावहारिक सीपहरू प्रदान गरिएको थियो।

तालिममा नीति निर्माणका क्रममा महिला, दलित, अपांगता भएका व्यक्ति तथा जोखिममा रहेका समुदायहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने समावेशी दृष्टिकोणलाई जोड दिइएको थियो। साथै, स्थानिय नीति, योजना र बजेट प्रणालीमा विपद् तथा जलवायु सरोकार समावेश गर्न आवश्यक विधि र प्रक्रियाहरूको पनि प्रशिक्षण दिइयो।

सभापति सोम प्रसाद प्रधानले तालिमलाई स्थानीय सरकारका लागि अत्यन्त उपयोगी र दीर्घकालीन प्रभाव पार्ने कार्यक्रमको रूपमा मूल्यांकन गर्नुभयो। उहाँले यस्ता तालिमहरू नीति निर्माण र कार्यान्वयनमा व्यावहारिक सघाउ पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

तालिमको अन्त्यमा सहभागीहरूले सिकाइका पक्षमाथि विचार आदानप्रदान गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। तालिममा इकाई प्रमुख दिनेश थापा र परामर्शदाता दीपक मरहठले सहजीकरण गर्नुभएको थियो भने आइसेट नेपालका कार्यक्रम संयोजक अशोक महर्जन, फिल्ड अधिकृत भरत ढुंगाना र नगरपालिकाका कार्यक्रम सहायक सञ्जय अवालको पनि सक्रिय उपस्थिति रहेको थियो।