नेपाल-कोरिया मैत्री नगरपालिका अस्पतालको १७ औँ स्थापना दिवस भव्य रुपमा सम्पन्न

23
भक्तपुर 
मध्यपुर थिमी नगरपालिका अन्तर्गत सञ्चालित नेपाल-कोरिया मैत्री नगरपालिका अस्पतालले सोमवार १७ औँ स्थापना दिवस भव्य रूपमा मनाएको छ। अस्पताल हातामा आयोजित विशेष समारोहमा मध्यपुर रक्तसञ्चार केन्द्र (ब्लड बैंक) उद्घाटन गर्नुका साथै बिरामीहरूलाई फलफूल वितरण र खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कोषमा बिमा दावी अत्यधिक बढेकाले भुक्तानीमा समस्या आएको उल्लेख गर्नुभयो। उहाँले बिमा प्रणालीमा सुधार गर्दै योगदानमा आधारित नयाँ स्वास्थ्य बिमा नीति ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो। “सक्नेले प्रिमियम तिर्ने र नसक्नेको सरकारले बिमा गर्ने व्यवस्थाले मात्रै स्वास्थ्य बिमा दिगो बन्छ,” मन्त्री पौडेलले स्पष्ट पार्नुभयो।
उहाँले स्वास्थ्य करमा वृद्धि गरिने र सो कर, कर्मचारी तलब तथा अन्य करको निश्चित प्रतिशत स्वास्थ्य बिमा कोषमा पठाउने व्यवस्था आवश्यक रहेकोमा जोड दिनुभयो। रोगको प्रकृति अनुसार पाँच लाख रुपैयाँसम्मको बिमा सुविधा उपलब्ध गराउने तयारी भइरहेको समेत उहाँले बताउनुभयो।
शहरी क्षेत्रमा नयाँ अस्पताल निर्माण गर्नु भन्दा विशेष सेवायुक्त अस्पताल र पालिकाका वडामा आधारभूत स्वास्थ्य केन्द्र विस्तार गरी रिफरल केन्द्रको रुपमा विकास गर्नुपर्ने आवश्यकता मन्त्री पौडेलले औंल्याउनुभयो।
नेपाल-कोरिया मैत्री नगरपालिका अस्पतालको सेवाप्रति जनविश्वास बढ्दो रहेको उल्लेख गर्दै उहाँले अस्पतालमा दैनिक एक हजारभन्दा बढी सेवाग्राहीले सेवा लिने गरेको र अत्याधुनिक उपकरणहरू जस्तै सिटिस्क्यान तथा डायलाइसिस सेवा विस्तार गर्नु व्यवस्थापनको सफलताको उदाहरण भएको बताउनुभयो।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का पोलिट्ब्यूरो सदस्य दिलीप कुमार प्रजापतिले अस्पतालले आसपासका जिल्लाका बिरामीलाई समेत सेवा प्रदान गरेर आफ्नो महत्त्व बढाएको बताउनुभयो। पूर्व नगरप्रमुख मदनकृष्ण श्रेष्ठले अस्पतालले नेपालमा पहिलो पटक समुदायमा आधारित स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको स्मरण गराउनुभयो।
अस्पतालका कार्यकारी निर्देशक डा. डि.के. रौशनले चालु आर्थिक वर्षको नौ महिनामा अस्पतालले एक लाख ५० हजार ओपीडी, तीन हजार ११८ इनडोर सेवा, ७० हजारभन्दा बढी प्रयोगशाला परीक्षण, ५७ हजार ४१३ एक्सरे, १ हजार ५५१ सिटिस्क्यान, १७ हजार ८८० युएसजी परीक्षण, १ हजार ६३१ शल्यक्रिया, ७४४ हेमोडायलाइसिस सेवा तथा ९९० कोलोनोस्कोपी र एन्डोस्कोपी सेवा प्रदान गरेको जानकारी दिनुभयो।
त्यस्तै, अस्पतालले नौ महिनामा ३९ करोड २९ लाख आम्दानी र ३३ करोड ७७ लाख खर्च गरेको र स्वास्थ्य बिमा बोर्डसँग २६ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो।
अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य एवं नेपाली कांग्रेस मध्यपुर थिमी सभापति हरीदास प्रजापतिले सेवा प्रवाह, आर्थिक अनुशासन र पूर्वाधार विकासमा अस्पतालले उल्लेखनीय प्रगति गरेको बताउनुभयो।
नगरप्रमुख सुरेन्द्र श्रेष्ठले अस्पतालको निर्माणाधीन भवन सम्पन्न भएपछि अस्पताललाई ३ सय शैयामा विस्तार गरी नर्सिङ कलेज सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो। साथै, नयाँ ब्लड बैंक सञ्चालनसँगै अब मध्यपुर थिमी र आसपासका नागरिकले सहज रूपमा रगत प्राप्त गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले एमआरआई सेवा विस्तार, अत्याधुनिक एचडियु सञ्चालनको तयारी र आपतकालीन तथा शल्यक्रिया सेवा स्तरीय बनाउने पहल भइरहेको जानकारी दिनुभयो।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्यहरू, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्था तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सो अवसरमा आयोजित रक्तदान कार्यक्रममा उल्लेखनीय संख्यामा स्वयंसेवकहरूले रक्तदान गरे र बिरामीहरूलाई स्वास्थ्यलाभको कामना सहित फलफूल वितरण गरिएको थियो।