स्रोत नखुलेको ९५ लाख नगदसहित चार जना काठमाडौंमा पक्राउ

49

भक्तपुर
स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ। आइतवार जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पिङ्गलास्थानस्थित पशुपति भिजन अगाडिबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका–३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तकोशी नगरपालिका–१ (सप्तरी) का ४३ वर्षीय गणेश राई, दोदी गाउँपालिका–३ (लमजुङ) का ३१ वर्षीय सन्तोष गुरुङ र ३९ वर्षीय सन्तोष घिमिरे रहेका छन्।

उनीहरू दुईवटा मोटरसाइकलमा शंकास्पद रूपमा हिँडिरहेको देखेपछि प्रहरीले उनीहरूलाई रोकी खानतलासी गर्दा नगद ९५ लाख १७ हजार ५ सय रुपैयाँ फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपील राज बोहराले जानकारी दिनुभयो।

प्रहरीका अनुसार उक्त नगदको स्रोत खुल्न नसकेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो। हाल घटनासम्बन्धमा थप अनुसन्धान जारी रहेको एसपी बोहराले बताए।