इजरायली आक्रमणमा गाजामा २९ प्यालेस्टिनीको ज्यान गयो, सयौं घाइते

11

गाजा — गाजा क्षेत्रमा सोमबार इजरायलले सञ्चालन गरेको श्रृंखलाबद्ध हवाई आक्रमणमा कम्तीमा २९ जना प्यालेस्टिनी नागरिकले ज्यान गुमाएका छन्, भने कैयौं व्यक्ति घाइते भएका छन्।

गाजा सहरको उत्तर अल–करामा क्षेत्रमा आवासीय भवनमाथि गरिएका तीव्र बमबारीपछि १५ वटा शव फेला पारिएको र १० भन्दा बढी व्यक्तिलाई जीवितै उद्धार गरिएको नागरिक सुरक्षा प्रवक्ता महमुद बसालले जानकारी दिए। सोही क्षेत्रमा थप ५ जनाको मृत्यु र १० जनाभन्दा बढी घाइते भएको पुष्टि भएको छ।

इजरायली आक्रमणबाट गाजाको उत्तर बेइत लाहियामा ७ जनाको मृत्यु भएको छ भने दक्षिणी गाजाको खान युनिसको पश्चिम भागमा २ जनाले ज्यान गुमाएका छन्।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार, चालु वर्षको मार्च १८ देखि हालसम्म इजरायली आक्रमणबाट २,४५९ जनाको मृत्यु भइसकेको छ र ६,५६९ भन्दा बढी घाइते भएका छन्। गत वर्षको मार्चदेखि हालसम्म गाजामा ५२,५६७ जनाको ज्यान गइसकेको मन्त्रालयले जनाएको छ।

इजरायली सेनाले भने आइतबार खान युनिस क्षेत्रमा हमासद्वारा इजरायलतर्फ प्रक्षेपणको तयारीमा राखिएका रकेटहरू ध्वस्त पारेको दाबी गरेको छ।

यसैबीच, हमासको सशस्त्र समूह अल–कस्साम ब्रिगेड्सले इजरायली इन्जिनियरिङ समूहमाथि खान युनिसको पूर्वी सिमानामा रहेको अल–फराहिन क्षेत्रमा हमला गरेको जनाएको छ। उनीहरूले पहिले गोली प्रहार गरिएको बताएको छ, तर इजरायली पक्षले घटनाबारे कुनै प्रतिक्रिया दिएको छैन।

अर्कोतर्फ, अन्तर्राष्ट्रिय रेडक्रसले गाजाको दक्षिण किसुफिम नाका हुँदै रिहा गरिएका १० प्यालेस्टिनी बन्दीलाई देइर अल–बालाहस्थित अल–अक्सा शहीद अस्पतालमा पुर्‍याएको जानकारी दिएको छ। ती बन्दीहरूलाई आफ्ना परिवारसँग भेट गराइएको र स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको रेडक्रसले जनाएको छ।