सिटिजन्स टेनिसमा आरभ र स्वस्तिका नयाँ च्याम्पियन

29

काठमाडौँ —आरभसम्राट हाडा र स्वस्तिका विष्ट शनिबार ११ औं सिटिजन्स बैंक टेनिस प्रतियोगितामा च्याम्पियन भएका छन् । आरभ पुरुष र स्वस्तिका महिला सिंगलमा विजेता बने । प्रतियोगितामा दुवै नयाँ च्याम्पियन हुन् ।

त्रिपुरेश्वरस्थित राखेप कोर्टमा आरभले निशान श्रेष्ठलाई ६–३, ६–२ को सोझो सेटमा पराजित गरे । आरभको समग्रमा तेस्रो सिनियर सिंगल्स उपाधि हो । यसअघि उनले गणेशमान सिंह टेनिस र माछापुच्छ्रे टेनिसको उपाधि जितेका थिए । निहालजंग थापा र राजवीर प्रधान तेस्रो भए । आठौं र दसौं संस्करणका उपाधि विजेता प्रदीप खड्का भने क्वाटरफाइनलमै रोकिए । प्रदीपमाथि राजवीरले जित पाएका थिए ।

महिला फाइनलमा स्वस्तिकाले नवौं र दसौं संस्करणकी उपाधि विजेता अभिलाषा विष्टलाई ६–१, ६–३ को सोझो सेटमा हराइन् । ४ वर्षे टेनिस करियरमा स्वस्तिकाको यो पहिलो सिनियर उपाधि हो । आइसा डोल्कर गुरुङ र जेनी खड्काले तेस्रो भए । पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०–१० हजार पुरस्कार पाए ।

११ स्पर्धामा प्रतिस्पर्धा भएकोमा मिक्स डबल्समा आरभ र अभिलाषा, भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियार, ३५ वर्षमाथि पुरुष डबल्समा जितेन्द्र र इलम दीक्षित, ४५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी तथा ४५ वर्षमाथि पुरुष डबल्समा कमल र सुमित मैनालीको जोडी विजेता बन्न सफल भयो ।

सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघले आयोजना गरेको प्रतियोगिताको ५५ वर्षमाथि पुरुष सिंगल्समा चन्द्र शाही, ५५ वर्षमाथि पुरुष डबल्समा चन्द्र र डेगेन्द्र श्रेष्ठ, ६५ वर्षमाथि पुरुष सिंगल्समा ध्रुवबहादुर गुरुङ तथा ६५ वर्षमाथि पुरुष डबल्समा धीर गुरुङ र मनोज राणाको जोडीले सफलता पायो । विजेतालाई नेपाल टेनिस संघका संयोजक मनोहरदास मुल, सिटिजन्स बैंकका प्रकाश मैनाली, विजयध्वज कार्की र दिग्विजय विष्ट, राखेप सदस्यद्वय कमलबहादुर भट्टराई, भानबहादुर चन्दलगायतले पुरस्कृत गरे ।