भक्तपुरमा लागूपदार्थसहित पाँच जना पक्राउ

32

भक्तपुर । महानगरीय प्रहरी वृत्त थिमी अन्तर्गत खटिएको प्रहरी टोलीले लागूपदार्थसहित पाँच जनालाई पक्राउ गरेको छ। प्रहरीले मध्यपुर थिमी नगरपालिका–९, बोदेस्थित एक कोठाबाट उनीहरुलाई बुधवार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा खोटाङको ऐसेलुखर्क गाउँपालिका–८ घर भई हाल बोदेमा बसोबास गर्ने २५ वर्षीय स्वदेश राई, काभ्रेको रोशी गाउँपालिका घर भई बोदे निलबाराहीमा बस्ने २९ वर्षीय छिरीङ लामा, मध्यपुर थिमी–९, बोदेका २५ वर्षीय अमिर बस्नेत, थिमी–७, धुन्चेपाखाका २१ वर्षीय सम्राट राई (नेस्नल) तथा सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिका–३ घर भई हाल काठमाण्डौको कागेश्वरी मनोहरा बस्ने २७ वर्षीय विकास लामा रहेका छन्।

जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) ढुण्डीराज नेउपानेका अनुसार उनीहरुलाई स्वदेश राईको डेरा कोठाबाट पक्राउ गरिएको हो।

प्रहरीले उनीहरुको साथबाट विभिन्न प्रकारका लागूपदार्थहरू — इपेस्पेन ४५० पिस, ट्रामाडोल १८० पिस, स्टेगा १७३ पिस, पोलाण्ड ४६६ पिस, नगद ५ हजार रुपैयाँ र तीन थान मोबाइल फोन बरामद गरेको जनाएको छ।

डिएसपी नेउपानेका अनुसार उनीहरूमाथि लागूपदार्थ सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।