नेपालमा कुल मतदाता १ करोड ८१ लाख नाघे

6

काठमाडौं ।निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ अनुसारको सम्पूर्ण प्रक्रिया सम्पन्न गरी  अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ। आयोगको निर्णयअनुसार महिला मतदाता ८९ लाख १० हजार ८९६, पुरुष मतदाता ९२ लाख ३७ हजार ५७२ र अन्य १८६ जना गरी कुल १ करोड ८१ लाख ४८ हजार ६५४ मतदाता कायम भएका छन्।

यसअघि २०८१ सालको कात्तिक २६ गते प्रकाशित अन्तिम नामावलीअनुसार कुल मतदाता संख्या १ करोड ८१ लाख २८ हजार ८३२ रहेको थियो। हालको नामावलीमा महिला मतदाता ७,६९९ जना र पुरुष मतदाता १२,१२४ जना थपिएकामा अन्य मतदाता संख्या एकजना घटेको छ। समग्रमा १९,८२२ मतदाता थप भएका छन्।

आयोगले २०८१ सालको चैत मसान्तसम्म १८ वर्ष उमेर पूरा गरेका नागरिकहरूको विवरण अद्यावधिक गरी नामावलीमा त्रुटि सच्याउने, दोहोरो विवरण हटाउने, मृत्यु भइसकेका वा नागरिकता परित्याग गरेका व्यक्तिहरूको नाम हटाउने लगायतका कार्यका लागि सूचना जारी गरेको थियो।

आयोगले प्रकाशित मतदाता नामावली आफ्नो आधिकारिक वेबसाइट www.election.gov.np मा सार्वजनिक गरेको छ।

त्यसैगरी, नागरिकता प्राप्त गरेका तर नामावलीमा नाम नभएका व्यक्तिहरूले नयाँ नाम दर्ता गराउन सक्ने र नामावलीमा नाम भएका मतदाताले आफ्नो विवरण अद्यावधिक गर्नुपर्ने भएमा अनलाइन तथा सम्बन्धित निर्वाचन कार्यालयमार्फत निरन्तर रूपमा गर्न सकिने जानकारी आयोगले दिएको छ।