गठ्ठाघरमा अधुरो किरियापुत्री भवन निर्माणका लागि श्रीमद् भागवत महायज्ञ

11

भक्तपुर — भक्तपुरको मध्यपुर थिमि–३, गठ्ठाघरमा अधुरो पितृमुक्ति (किरियापुत्री) भवन निर्माणका लागि श्रीमद् भागवत महायज्ञ आयोजना हुने भएको छ। आर्थिक अभावका कारण रोकिएको भवन निर्माण कार्यलाई पुनः अगाडि बढाउन यही जेठ ४ गतेदेखि १० गतेसम्म महायज्ञ गर्न लागिएको हो।

गठ्ठाघरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा महायज्ञको औपचारिक घोषणा गर्दै सनातन पितृमुक्ति समाज गठ्ठाघरका अध्यक्ष खेम सुवेदीले महायज्ञबाट संकलित दान रकमबाट अधुरो भवन निर्माण, अक्षयकोष स्थापन तथा पुस्तकालय निर्माण गर्ने योजना रहेको जानकारी दिनुभयो।

महायज्ञमा मञ्जरी राधिका दासीले श्रीमद्भागवत कथा वाचन गर्नुहुनेछ। सुवेदीले भन्नुभयो, “किरियापुत्री भवन निर्माण जस्तो सामाजिक कार्यलाई सम्पन्न गर्न हामीले नगरे कसले गर्ने भन्ने भावनाबाट महायज्ञको आयोजना गरिएको हो।”

वि.सं. २०६९ सालमा आयोजित पुराण कार्यक्रमबाट उठेको रकमबाट उक्त भवन निर्माणको थालनी गरिएको थियो। हालसम्म पाँच आना दुई पैसा क्षेत्रफलमा तीन तला भवन निर्माण भइसकेको भए पनि आर्थिक अभावका कारण निर्माण कार्य रोकिएको छ।

सुवेदीका अनुसार भवन निर्माण, शौचालय र अन्य संरचना निर्माणमा हालसम्म एक करोड ६३ लाख रुपैयाँ खर्च भइसकेको छ भने १६ लाख रुपैयाँ ऋण बाँकी छ। सोही ऋण तिर्न र बाँकी संरचना निर्माण गर्न महायज्ञ आवश्यक परेको उहाँको भनाइ छ।

महायज्ञ आयोजक समितिले कार्यक्रम सफल बनाउन १७ वटा उपसमिति गठन गरेको छ। महायज्ञबाट दुई करोड रुपैयाँभन्दा बढी संकलन गर्ने लक्ष्य रहेको बताइएको छ। सुवेदीले सहयोग गर्ने दाताहरूका लागि विशेष सम्मानको व्यवस्था गरिएको जानकारी पनि दिनुभयो।