भक्तपुर प्रदेशकै पहिलो ‘पूर्ण खोप सुनिश्चित जिल्ला’ घोषणाको तयारीमा

13

भक्तपुर । भक्तपुर जिल्ला बागमती प्रदेशकै पहिलो ‘पूर्ण खोप सुनिश्चित जिल्ला’ को रुपमा घोषणा हुने तयारीमा रहेको छ। आज सम्पन्न जिल्ला खोप समन्वय समितिको बैठकमा जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्काले उक्त जानकारी दिनुभयो।

उहाँका अनुसार भक्तपुरका चारवटै नगरपालिका तथा तिनका सम्पूर्ण वडाहरूलाई पहिले नै पूर्ण खोप सुनिश्चित क्षेत्र घोषणा गरिएको छ। जिल्लाभरिका २३ महिनासम्मका बालबालिकामध्ये हालसम्म केवल २ जना बालबालिकाले खोप नै नलगाएको र १९ जना खोपको नियमित कार्यक्रम सुरु गरेर पनि बीचमै छोडेको तथ्यांक रहेको बताइएको छ।

प्रमुख खड्काका अनुसार, खोप छुटेका बालबालिका प्रायः बसाइँसराइ र रोजगारीका कारण अस्थायी रूपमा बसोबास गरिरहेका परिवारका हुन्। उनले खोप कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सबै सरोकारवालाहरूको सक्रिय सहकार्य आवश्यक रहेकोमा पनि जोड दिनुभयो।

सरकारले ‘एक बालक पनि खोपविहीन नरहोस्’ भन्ने लक्ष्यसहित सञ्चालन गर्दै आएको नियमित खोप कार्यक्रम अन्तर्गत भक्तपुर जिल्लाको यो उपलब्धि महत्वपूर्ण मानिएको छ। अब छिट्टै औपचारिक रुपमा भक्तपुरलाई ‘पूर्ण खोप सुनिश्चित जिल्ला’ घोषणा गरिने जनस्वास्थ्य कार्यालयले जनाएको छ।