भक्तपुर,
मध्यपुर थिमि नगरपालिकाले तीन वर्षे कार्यकालको प्रगति विवरण बुधबार सार्वजनिक गरेको छ। मध्यपुर सञ्चार समाजद्वारा आयोजित “नगरप्रमुख र सञ्चारकर्मीबीचको संवाद” कार्यक्रममा नगरप्रमुख सुरेन्द्र श्रेष्ठले उपप्रमुख विजयकृष्ण श्रेष्ठ, वडा अध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत तथा महाशाखा प्रमुखहरूको उपस्थितिमा १५ पृष्ठ लामो विवरण सार्वजनिक गर्नुभयो।
नीति निर्माणमा उल्लेखनीय प्रगति
नगरप्रमुख श्रेष्ठका अनुसार, तीन वर्षको अवधिमा ४९ वटा ऐन, नियम, निर्देशिका, कार्यविधि निर्माण गरी नगरपालिका सञ्चालनलाई विधिसम्मत बनाइएको छ। “हामी निर्वाचित हुँदा नगरपालिका नीति निर्माणको दृष्टिले कमजोर अवस्था थियो,” उहाँले भन्नुभयो, “अब हामी कानूनी संरचनाको आधारमा अघि बढिरहेका छौं।”
आर्थिक प्रगति
नगरपालिकाको आन्तरिक आम्दानीमा उल्लेखनीय वृद्धि भएको छ।
- आ.व. २०७८/७९ मा रु. १८ करोड ४५ लाख
- आ.व. २०७९/८० मा रु. २४ करोड १९ लाख
- आ.व. २०८०/८१ मा रु. ३० करोड
- चालु आ.व.को बैशाखसम्म रु. २२ करोड संकलन भएको नगर प्रमुखले जानकारी दिनुभयो।
पुँजीगत खर्च अघिल्लो आ.व.मा ६३.२५% पुगेको र चालु आ.व.मा जेठ १५ सम्म ३१% रहेको छ। चालु खर्चमा पनि सुधार देखिएको छ।
पूर्वाधारमा उल्लेखनीय विस्तार
तीन वर्षमा नगर क्षेत्रमा
- १५.९ किमी कालोपत्रे
- ८.५ किमी बाटो फराकिलो
- ९.२ किमी ढल निकास
- ३० वटा सामुदायिक भवन
- २९ वटा ट्रस संरचना
- २६ मन्दिर, ५ पोखरी, ५ शवदाह गृह
- १३ वटा इनार/हिटी निर्माण
- ३ ऐतिहासिक दरबार पुनर्निर्माण
जस्ता कार्य सम्पन्न भएका छन्।
धार्मिक सम्पदालाई संरक्षण गर्दै क्षयरोग अस्पतालदेखि नीलबाराही मन्दिरसम्म सम्पदा मार्ग निर्माण थालिएको छ। नायगाचा क्षेत्र सरसफाइ, स्वंगा पुखु पुनःनिर्माण, दिव्यश्वरी मन्दिर गुरुयोजना कार्यान्वयन, मध्यपुर उज्यालो अभियान अन्तर्गत स्मार्ट लाइट जडानजस्ता योजनाहरू पनि अघि बढेका छन्।
शिक्षा र स्वास्थ्यमा गुणात्मक सुधार
- करिब ३ हजार विद्यार्थीलाई छात्रवृत्ति
- ईसीडी कक्षालाई दुई वर्षे बनाई १५ शिक्षक थप
- कम्प्युटर, नृत्य, खेलकुद, संगीतका शिक्षक
- दिवा खाजाका लागि केन्द्रीय भान्सा स्थापना
- कक्षा ६ सम्म स्टेशनरी निःशुल्क
- कक्षा १–८ सम्म स्थानीय पाठ्यक्रम कार्यान्वयन
स्वास्थ्य सेवामा:
- २७३३ परिवारको निःशुल्क स्वास्थ्य बीमा
- १०८३ जनालाई निःशुल्क रगत
- १० वटा वडामा नियमित स्वास्थ्य शिविर
- नेपाल-कोरिया मैत्री अस्पतालमा डायलसिस, सिटी स्क्यान
- ब्लड बैंकको तयारी, अत्याधुनिक १०० शैयाको अस्पताल निर्माण
- एनआइसियू, ओटी, एचडियू र आइसियू सेवा विस्तार
कृषि, रोजगार र वातावरण
- १८४६ जनालाई सीपमूलक तालिम
- ९३ जनालाई १०० दिने रोजगारी
- कृषि उपकरण वितरण, पशुपालकलाई उपचार
- दैनिक ४५ टन फोहोर व्यवस्थापन
- २००० भान्साको फोहोर स्रोतमै वर्गीकरण
- वृक्षारोपण, हरियाली प्रवर्द्धन
प्रशासन, न्याय र सूचना प्रवाह
- २४०० स्ववासीलाई जग्गा पुर्जा वितरण
- ठप्प रहेको नक्सा पास प्रक्रिया पुनःसञ्चालन
- ११६ वटा उजुरी न्यायिक समितिबाट मेलमिलाप
- वेबसाइट, फेसबुक, युट्युब र रेडियो कार्यक्रममार्फत सूचना प्रवाह
- “हाम्रो मध्यपुर थिमि” बुलेटिन प्रकाशन
पुरस्कार र मान्यता
- नेपाल नगरपालिका संघबाट उत्कृष्ट नगरपालिका घोषणा
- सूचना आयोगबाट उत्कृष्ट सूचना अधिकारी पुरस्कार
- लिजा, एफएआर, जनस्वास्थ्य मूल्यांकनमा उत्कृष्ट प्रदर्शन
- महालेखा परीक्षकको प्रतिवेदन अनुसार सबैभन्दा कम बेरुजु भएको पालिका
कार्यक्रममा पत्रकारहरूको जिज्ञासामा नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ तथा विभिन्न वडाध्यक्षहरूले जवाफ दिनुभएको थियो।