भक्तपुर । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको प्राविधिक सहयोगमा, नेरेसो सिरुटार उपशाखाको समन्वय र सूर्यविनायक नगरपालिका वडा नं. १ को आयोजनामा सिरुटार माध्यमिक विद्यालयको हलमा चार दिने प्राथमिक उपचार तालिम सम्पन्न भएको छ।
उक्त तालिम मिति २०८२ असार ११ गतेदेखि १४ गतेसम्म सञ्चालन गरिएको थियो। तालिममा स्थानीय समुदायका सहभागीहरूलाई प्रारम्भिक घाउ उपचार, रक्तश्राव नियन्त्रण, हड्डी भाँचिएको अवस्थामा प्राथमिक सहयोग, सर्पदंश, जलन, बेहोस भएको व्यक्तिलाई दिने प्राथमिक सेवा लगायतका महत्वपूर्ण विषयहरूमा व्यावहारिक अभ्याससहित जानकारी प्रदान गरिएको थियो।
तालिमले विपद्, दुर्घटना वा आकस्मिक अवस्थाहरूमा तत्काल प्रतिक्रिया दिनसक्ने स्थानीय जनशक्तिको विकासमा योगदान पुग्ने आयोजकहरूको विश्वास रहेको छ।