भक्तपुर। भक्तपुर नगरपालिका वडा नं. १ को आयोजनामा शुक्रबार विद्यालयस्तरीय आगलागीसम्बन्धी विपद् व्यवस्थापन तालिम सम्पन्न गरिएको छ।
वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीलाई लक्षित गरी आयोजना गरिएको उक्त तालिममा ३० जनाको सहभागिता रहेको थियो। तालिममा आगलागीको वर्गीकरण, नियन्त्रणका सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्याससमेत गराइएको थियो।
वडाध्यक्ष श्यामकृष्ण खत्रीले विद्यालयमा हुन सक्ने घरेलु तहका आगलागीका घटनालाई न्यूनीकरण गर्न आधारभूत विपद् व्यवस्थापन तालिमको आवश्यकता औंल्याउँदै भविष्यमा पनि यस्ता तालिमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
तालिममा ‘डीसीपी’ र ‘पास’ विधिको व्यवहारिक प्रयोगसमेत प्रशिक्षण दिइएको थियो। सहभागीहरूले विपद्को अवस्था र प्राथमिक हस्तक्षेपबारे ज्ञान लिन पाएका थिए।