सुमधुर साकोसको १७ औं साधारण सभा सम्पन्न

11

भक्तपुर । सूर्यविनायक नगरपालिका हर्षचोकस्थित सुमधुर बचत तथा ऋण सहकारी संस्था लि.को १७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उहाँले सहकारी एउटा महान संस्था हो । यो व्यक्तिसँग, व्यक्तिको भावनासँग, समुह, समाजसँग जोडेर सेवा दिन जन्मेको संस्था रहेको बताउँदै सहकारीको साधारण सभा शेयर सदस्यहरुको लागि एउटा पर्व हो उक्त सभाबाट शेयर सदस्यहरुले सहकारीको आर्थिक उन्नति, आर्थिक विवरण, र आफूले विश्वास गरेर जम्मापुँजी राखेको संस्थाको अवस्था बारे पनि थाहा पाउनु हुने जानकारी दिनुभयो । उहाँले यस सुमधुर सहकारीले शेयर सदस्यहरुको जसरी विश्वास जितेर काम गर्नुभएको छ आगामी दिनमा पनि अझ सफलता मिलोस् भनी शुभकामना व्यक्त गर्नुभयो । उहाँले सूर्यविनायक नगरपालिकाले आफ्ना स्थानीयबासीहरुको निमित्त वडा वडामा जेष्ठ नागरिक चौतारा निर्माण, बाल उद्यान निर्माण गरिरहेको जानकारी दिँदै नगरपालिकाले सहकारी संस्था एवं अन्य संस्थाहरुसँग समन्वय गरेर महिला उद्यमीका लागि तालिम र उद्यमी महिलाहरुको लागि आफूले बनाएका सरसामान बिक्रीवितरण गर्न हाटबजारको आयोजना गर्न लागेको हुँदा सम्पूर्ण महिला दिदीबहिनीहरुलाई सहभागिता जनाउन पनि आग्रह गर्नुभयो । कार्यक्रममा साकोसका अध्यक्ष राजकिरण खुलिमुलीले ३ जनाले देखेको सपना र उद्देश्य एवं पढेको कुरा व्यवहारमा लागु गर्न जन्माइएको संस्था जुन साथीभाइको सम्बन्धलाई सदैव कायम र सुमधुर राख्न नामाकरण गरिएको यस सुमधुर बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो १७ औं बार्षिक साधारण सभा गर्न सफल भएकोमा हर्ष व्यक्त गर्दै शेयर सदस्यहरुले गर्नुभएको विश्वास र साथसहयोगप्रति सदैव आभार रहने बताउनुभयो । उहाँले यस सहकारीले दिइरहेको सेवालाई भविष्यमा अझ सहज र सरल रुपमा लैजाने क्रममा आइएमई एवं आइएमई रेमिट त्यस्तै आइएमई पे सेवा सुरु गरेको पनि जानकारी दिनुभयो । उहाँले यस संस्थाले हरेक वर्ष सामाजिक कार्यक्रम गर्दै आइरहेको छ र आ.व. ०८२।०८३ मा पनि रक्तदान, तालिम शिक्षा, स्वास्थ्य शिविर, धार्मिक तिर्थ यात्रा र अन्य कार्यक्रम गर्ने पनि जनाउनुभयो । कार्यक्रममा साकोसका कोषाध्यक्ष पुष्पराज भुजुले कोषाध्यक्षको प्रतिवेदन पेश गर्नुभएको थियो भने लेखा सुपरिवेक्षण समितिका लेखा सदस्य मुकेश राजथलाले लेखा एवं भावी योजनाको प्रतिवेदन पेश गर्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट बचतकर्ता अन्तर्गत मासिक बचतकर्तामा बद्री प्रसाद बराल, मासिक बचत महिलामा शारदा दाहाल कार्की, सुपर मासिक बचतमा सरस्वती केसी, दैनिक बचतमा गंगा श्रेष्ठ, बाल बचतमा समर्पण खुलिमुली, आवधिक बचतमा शिव प्रसाद पहाडी र उत्कृष्ट कारोबारकर्तामा कुमार विश्वकर्मालाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो भने २८ जना ज्येष्ठ नागरिक सदस्यहरुलाई खादा र नगद दिएर सम्मान गरिएको थियो । कार्यक्रममा हिन्दु महिलाहरुको महान चाड तीजको अवसरको उपहार वितरण गर्नुको साथै चिठ्ठा कार्यक्रममा प्रथम पुरस्कार प्राप्त गर्न सफल सदस्य पुकार नगरकोटी, दोस्रो राधेश्याम माकजु र तेस्रो मिना कर्माचार्य हुनुहुन्थ्यो भने सान्त्वना पुरस्कार पाउनु हुने सदस्यहरुमा चाहिँ इन्द्रप्रसाद राजथला, इन्द्रप्रसाद वाग्ले, सुक बहादुर लोकान्ती, रञ्जना घिमिरे र ऋतु राजथला हुनुहुन्थ्यो । कार्यक्रममा सूर्यविनायक नगरपालिकाकी सहकारी शाखा प्रमुख कमला श्रेष्ठ, राष्ट्रिय सहकारी बैंक थिमि शाखा प्रमुख सुनिता गौतम, नेफ्स्कुन थिमि शाखा प्रमुख राजेश खड्का, बाल अधिकारकर्मी युवराज घिमिरे, जनता साकोसका महेन्द्र राजथला, एवं सम्पूर्ण अतिथिहरुले सुमधुर साकोसले दिइरहेको सेवा एउटा उदाहरणीय रहेको बताउँदै सम्पूर्ण शेयर सदस्यहरुलाई सदस्य सक्रिय भए सहकारी सक्रिय हुन्छ र सहकारीलाई सफल पार्न सहकारीका पदाधिकारीको भन्दा पनि शेयर सदस्यहरुको ठूलो हात रहने हुँदा सहकारीको बारेमा सम्पूर्ण सदस्यहरुलाई हरेक प्रतिवेदन अध्ययन गर्न पनि आग्रह गर्नुभएको थियो । कार्यक्रम लेखासुपरिवेक्षण समिति संयोजक अनिता पाण्डेले संचालन गर्नुभएको थियो ।
“हाम्रो सेरोफेरो तथा सामाजिक विषयक प्रदर्शनी–२०८२”
भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं.४ दधिकोट भक्तपुरमा, अवस्थित शंकर नेशनल स्कुलले क्रमिक रुपमा कक्षामा गरिएका र अध्यापन भएका पाठ्यवस्तुहरूको
आधारमा विभिन्न मासिक र साप्ताहिक रुपमा फरक फरक क्रियाकलापहरुमा नानीबाबुहरुलाई जोड्दै उक्त कक्षागत सिकाईलाई विषयसँगै जोड्दै विभिन्न प्रयोगात्मक क्रियाकलापहरु गर्दै आइरहेको छ । उक्त सिकाई उपलब्धीमुलक बनाउनको लागि कक्षा १ देखि कक्षा ७ सम्मका नानीबाबुहरूको सक्रियता र विशेष शिक्षकहरूको संयोजकता तथा अन्य शिक्षकहरूको सहयोगमा विद्यालयको कार्यक्रम हलमा “हाम्रो सेरोफेरो तथा सामाजिक विषयक प्रदर्शनी–२०८२”को
आयोजना गरिएको थियो। उक्त प्रदर्शनीमा आ–आफ्नो कक्षाको
प्रतिनिधित्व गर्दै हरेक कक्षाले विभिन्न स्टलहरु राखेका थिए ।
उक्त स्टलमा समुदाय, पेशा र आर्थिक क्रियाकलाप, हाम्रो पृथ्वी,
नागरिक चेतना, कला संस्कृति, हाम्रो विगत, हाम्रो समुदाय, हाम्रा परम्परागत उपकरण, चाडपर्व लगायतका विषयवस्तुहरु प्रत्यक्ष अवलोकन गरी सम्पूर्ण नानीबाबुहरुले सिक्ने अवसर पाएका थिए । परम्परागत पोशाकहरू, डोको, नाम्लो, टुकी, रेडियो, हलो–जुवा देखि हाम्रो पृथ्वी समेत स्टलमा राखिएको थियो। उक्त स्टलमा रहेका नानीबाबुहरुले प्रदर्शनीमा राखेका विभिन्न सामग्री तथा वस्तुहरू बारे अवलोकनकर्ताहरुलाई प्रष्ट रुपमा व्याख्या गरी बुझाउने प्रयास गरेका थिए, लोप हुन लागेका वस्तु सामग्री तथा नागरिक चेतनाको बारेमा संविधान तथा नियम कानुन र नागरिक चेतनाको बारेमा नानीबाबुले प्रष्ट पारेका थिए । जसमा विभिन्न चेतनामूलक प्ले कार्डहरु समेत प्रदर्शनमा राखिएको थियो।
उक्त प्रदर्शनीमा हाम्रो सेरोफेरो तथा सामाजिक विषयसँग जोड्दै हरेक सिकाइको इकाइलाई परियोजना र प्रयोगात्मक रुपमा प्रस्तुत गरिएको थियो। अतिरिक्त क्रियाकलाप इन्चार्ज मुकुन्द अधिकारीले यस प्रदर्शनीबाट नानीबाबुहरूले विशेष सिकाइ मात्र नभई प्रस्तुतिकरण, सामाजिकरणको ज्ञान र पूर्णरूपले विषयवस्तुहरुलाई सिकाउने उद्देश्य रहेको बताउनुभयो भने यस प्रकारका र अन्य अतिरिक्त
क्रियाकलापहरुलाई प्रयोगात्मक रुपले नै सिकाई उपलब्धीमुलक हुनेमा दुई मत नरहेको विद्यालयका प्रिन्सिपल सरण चौलागाईंले बताउनुभयो साथै अब अर्को प्रदर्शनी गणित विषयसँग जोडेर हुने पनि जानकारी दिनुभयो ।