हाम्रो एक दशकको यात्रा: संवाहक डटकमको प्रतिवद्धता

58


बढ्दो सूचना प्रविधिकाे प्रयाेग । सञ्चार क्षेत्रमा आएको परिवर्तन, सूचना र समाचारप्रति पाठककाे बढ्दो पहुँचलाई ख्याल गरी हामीले दश वर्षअघि संवाहक डटकमकाे सुरूवात गर्याैं । त्यसयता संवाहक डटकम एउटा डिजिटल मञ्च मात्र नभई समाज, जनता र आजाजविहीनहरूकाे आवाज बोकेर अघि बढ्ने संचारको भरपर्दो संवाहक बनेको छ। हामी अझ पनि त्याे दिशामा अग्रसरताका साथ लागि रहेका छाैं । सुरुका दिन, क्षण, समयमा चुनौती हाम्रा लागि पाठशाला सावित भयाे । हामीसँगकाे सीमित स्रोतका बाबजुद पनि हामीले अपार सम्भावना खाेज्याैं । त्यसमा हामी थाकेनाैं । हामी सदा तथ्यपरक पत्रकारिता, सामाजिक उत्तरदायित्व र निष्पक्ष दृष्टिकोणलाई आत्मसात् गर्दै अघि बढ्याैं पनि । याे क्षणमा पनि अनेकौं चुनाैतीहरू हामीसामु नरहेका भने हैनन् । यसबीच हामीले सञ्चार जगतमा एउटा महत्त्वपूर्ण उपलब्धि हासिल गर्याैं भन्ने हाम्रो दाबी हाे । याे दाबीकाे आधार हाम्रा पाठकहरूले हामीप्रति देखाएको अटुट माया, दिएकाे दरिलाे साथ, सहयोग र हामीसँग गरेको सहकार्य हाे ।
सञ्चार जगतमा व्यतीत गरेकाे हाम्रो महत्त्वपूर्ण दशकले पत्रकारिता केवल समाचार लेख्ने कर्म होइन, यो समाजसँगको बन्धन भएको सिकाएको छ । यसैले हामी समाजकै विषयलाई प्राथमिकता दिएर अघि बढेका छाैं । हामीले यसबीच सञ्चारकर्मी, सञ्चारनिकायसँग गरेकाे सहकार्यले थप उर्जा दिएको छ । हामीलाई थाहा छ, जब सूचना पक्षपाती हुन्छ, तब विश्वास हराउँछ; जब सूचना तथ्यमा अडिन्छ, तब जनताको शक्ति बढ्छ। जनताको सूचनाको हकलाई थप मजबुत बनाउन, मिथ्या सूचना र सञ्चारबाट हाम्रा पाठकलाई टाढा राख्न हामी प्रतिवद्द छाैं । भ्यूज,लाइक, कमेन्टकाे पछि नलागी तथ्य र सत्यप्रति अडिग निष्ठाकाे पत्रकारिता हाम्रो पहिचान हाे । यसमा हामी प्रतिवद्द रहेकाे पुन: दाेहाेर्याउन चाहन्छाैं । हामी सनसनी होइन, प्रमाणमा आधारित पत्रकारितालाई प्राथमिकता दिनेछौं।
हामीले स्थानीय मुद्दालाई प्राथमिकता दियाैं । व्याप्त भ्रष्टाचार, असमानता र प्रणालीगत कमजोरी उजागर गर्ने खोज पत्रकारिताकाे अभ्यास गर्याैं । हाम्रो अभ्यासलाई निस्तेज पार्न अनेकौं अवरोध खडा गरे । हामी धर्मराएनाैं । पत्रकारिताकाे इथिक्सलाई हामीले आफ्नो प्राणवायु बनायाैं । याे अभ्यासलाई हामीले पत्रकारिताकाे दैनिकी बनाउँदा हामीमाथि थुप्रै प्रकारले प्रहार भयाे । तर, हामीले हार मानेनाै, हामी अघि बढी नै रह्याैं । आराेप, लान्छना, पूर्वाग्रही साेच, व्यवहारले पाठकसँगकाे हाम्रो सम्बन्धमाथि आँच ल्याउने धृष्टता गरे । तर, हामी कति पनि विचलित भएनाैं । र, हुने पनि छैनाैं ।
हाम्रो एक दशकको यात्राका सहयात्रीहरूप्रति हार्दिक आभार । हाम्रो यात्रामा आएका उतारचढावमा हरतरहले सहयाेग गर्ने सबै( पाठक, दर्शक, विज्ञापनदाता, सूचनादाता, सञ्चारकर्मी, संवाददाता, व्यवस्थापनका सहयोगी, प्राविधिक तथा शुभचिन्तक आदि) प्रति हार्दिक आभारका साथै आगामी दिनमा पनि साथ, सहयोग र सहकार्यकाे अपेक्षा राख्दछाैं । सबैमा विजया दशमी २०८२ काे मंगलमय शुभकामना ।
– हरिसुन्दर छुकां/संजिब दुलाल( सम्पादकीय टीम)