मकवानपुरगढी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी निर्वाचनलाई लक्षित गर्दै भ्रम छर्न खोज्ने, आकर्षक भाषण गर्ने तर काम नगर्ने उम्मेदवारहरूबाट सचेत रहन मतदातालाई आग्रह गर्नुभएको छ।
अन्तरिम सरकारले फागुन २१ गतेका लागि तय गरेको प्रदेशसभा निर्वाचन नजिकिँदै जाँदा यस्तै प्रकारका व्यक्तिहरू सक्रिय हुने भन्दै जनताले वास्तविक रूपमा काम गर्ने व्यक्तिलाई पहिचान गरी मत दिनुपर्ने उहाँको भनाइ थियो।
मुख्यमन्त्री बानियाँले मङ्गलबार मनहरी गाउँपालिका–१ को तल्लो मकरीस्थित राधाकृष्ण मन्दिर क्षेत्रको सडक ढलान कार्यको शुभारम्भ गर्दै भन्नुभयो,
“कुरा राम्रो गर्ने, फेसबुक–युट्युबमा भाषण मात्र पणि गर्ने धेरै छन्; तर काम गर्ने भने थोरै। अब जनताले कुरा र काम दुवै गर्नेलाई रोज्नुपर्छ।”
उहाँले भ्रम फैलाउने व्यक्ति र पार्टीलाई प्रश्रय नदिन चेतावनी दिंदै विकास र जनसेवामुखी नेतृत्वको आवश्यकता औँल्याउनुभयो।
मुख्यमन्त्री बानियाँले प्रदेश सरकार न्यायमुखी, गाउँमुखी र विकासमुखी काममा केन्द्रित रहेको बताउँदै आगामी बजेटलाई थप जनमुखी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले सिप र तालिममार्फत नागरिकलाई आयआर्जनसंग जोड्ने कार्यक्रमलाई मजबूत बनाइने उल्लेख गर्दै,
“नागरिकले दिएको विश्वास र मतको अवहेलना नगरी काम गर्ने हाम्रो प्रतिवद्धता छ,” भन्नुभयो।
कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले गाउँपालिकाले स्थानीयलाई सिप प्रदान गरी स्वरोजगार बढाउने अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो।
दुग्ध किसानहरूलाई समयमै भुक्तानी दिलाउन गाउँपालिकाले डेरीहरूसँग सम्झौता गरेर काम गरिरहेको उल्लेख गर्दै अध्यक्ष कालाखेतीले भने,
“अनुदान र समयमै भुक्तानको व्यवस्था भएपछि गाउँमा गाईभैँसीपालन गर्ने किसानहरूको सङ्ख्या बढेको छ।”
बागमती प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट मनहरी गाउँपालिका–१ मा तल्लो मकरी–राधाकृष्ण मन्दिर सडक ढलान कार्य सुरु भएको हो।
छ मिटर चौडाइ र ७३२ मिटर लम्बाइको यस सडकमा मुख्यमन्त्री बानियाँले कङ्क्रिट बिछ्याएर निर्माण कार्यको औपचारिक सुरुवात गर्नुभएको हो।
७४ लाख ९६ हजार रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको सडक निर्माण कार्य गुनी निर्माण सेवाले सुरु गरेको हो। औपचारिक कार्यक्रम मनहरी गाउँपालिका–१ का वडाध्यक्ष शिवप्रसाद खनालको अध्यक्षतामा सम्पन्न भयो।







































